• १३ साउन २०८१, आइतबार

कोशी प्रदेशको गौरव

blog

अन्ततः प्रदेश १ ले स्थापनाको आधा दशकपछि कोशी प्रदेश नामसहित आफ्नो पहिचान प्राप्त गरेको छ । मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पछि नाम प्राप्त गर्ने प्रदेश यही बनेको छ । अन्य बाँकी छ प्रदेशले स्थापनाको पहिलो कार्यकालमै प्रदेश सभामार्पmत नामसहित परिचय प्राप्त गरिसक्दा प्रदेश १ लाई भने दोस्रो कार्यकालसम्मै प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भयो तर ढिला भए पनि नेपालकै ठूलो प्राकृतिक सम्पदा कोशी नदीका नामकरणले यो प्रदेशलाई दूरगामी प्रभाव पार्नेछ ।


विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भाग केचनासम्म विशेष भौगोलिक विशेषता भएको प्रदेश १ मा लामो समय नामकरण हुन सकेन । प्रदेश सभाको कार्यकाल नाम राख्न नसक्दै बित्यो । प्रदेशको नामकरणको विषयलाई लिएर जनप्रतिनिधिबीच निकै वादविवादको सिलसिला जारी रहेको थियो । राजनीतिक दल तथा जनप्रतिनिधिले प्रदेश नामकरणलाई आफ्नो प्रतिष्ठा नै बनाएको स्थितिसमेत विद्यमान थियो । प्रदेशमा छरिएर रहेका विभिन्न जातजाति आफ्ना पहिचानसहितको प्रदेशको नामकरण हुनुपर्नेमा अडिग हुनु अस्वाभाविक पनि होइन । त्यसैले समयमा नाममा एक मत हुन सकेन । नाममा मतैक्य हुन नसक्दा सबैभन्दा पछि नाम पाउने यही प्रदेश बन्न पुगे पनि यो प्रदेशले अब नयाँ अध्याय आरम्भ गरेको छ । प्रदेश नामकरणका निम्ति प्रदेश सभा सचिवालयमा दर्ता गरिएको प्रदेश नामकरणसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रस्ताव दुई तिहाई बहुमतले पारित भएसँगै प्रदेश १ कोशी प्रदेशको नाममा रूपान्तरित हुन सम्भव भएको हो । 


प्रदेश सभामा मत विभाजन हुँदा कोशी नामको पक्षमा ८२ मत तथा विपक्षमा चार मत परेको थियो । बुधबारको त्यस बैठकमा चार जना सांसद अनुपस्थित भएका थिए । कुल ९३ सदस्यीय प्रदेश सभामा ८९ सांसद उपस्थित भएकामा झन्डै ९० प्रतिशत सांसदको समर्थनसहित कोशी प्रदेशको न्वारन हुन सम्भव भयो र त्यो ऐतिहासिक क्षणसमेत हो । लोकतान्त्रिक पद्धतिबाट कोशी प्रदेशको नाम टुङ्गो लाग्नु त्यस क्षेत्रका जनताका निम्ति पक्कै पनि खुसी तथा गौरवको विषय हो । सबैले सबै कुरा आफैँले चाहेअनुसार नपुग्न पनि सक्छ । यस स्थितिमा लोकतान्त्रिक पद्धतिअनुरूप मत विभाजन गरेर निर्णय लिनु उपयुक्त हुन्छ र भयो पनि । प्रदेश १ को सभाले पनि यही उपयुक्त प्रणालीबाट निर्णय गरेकाले यसमा कसैको निर्णय लादिएको भन्ने प्रश्नमा अब अलमलिनु हुँदैन । त्यसो त नाममा के नै राखिएको हुन्छ भन्ने महान् 

नाटककार सेक्सपियरको भनाइ पनि यहाँ स्मरणीय हुन आउँछ । गुलाफको फूललाई जेसुकै नामले सम्बोधन गर्दा पनि यसको सुवास उही नै हुन्छ । यहीअनुरूप प्रदेश नं.१ लाई जेसुकै नामले सम्बोधन गरिँदा पनि त्यहाँ बसोबास गर्ने सबै नेपाली नै हुन् । स्रोत साधन तिनै हुन् । यसमा तात्त्विक अन्तर केही पनि हुँदैन । यसर्थ सापेक्षिक नाममा ठूलो विवाद सिर्जना गरिनु उपयुक्त होइन । अब प्रदेशले आर्थिक तथा सामाजिक विकास यात्रामा लाग्नु पर्छ ।


प्रदेश नामकरणको अध्याय समाप्त भएसँगै कोशी प्रदेशको प्रदेश संरचनाअन्तर्गतका लगभग सबै कार्य सम्पन्न भएको मान्न सकिन्छ । अबको दिशा भनेको प्रदेशको विकास तथा समृद्धिका निम्ति सबै राजनीतिक दल तथा अन्य सरोकारवालाबीचको सहमति, सहकार्य नै महत्त्वपूर्ण विषयवस्तु हुन् । पौराणिक कालदेखि नै चर्चामा रहँदै आएको कोशी प्रदेशमा औद्योगिक, पर्यटकीय, शिक्षा, स्वास्थ्यका साथै आर्थिक गतिविधिका निम्ति निकै महत्त्वपूर्ण अवसर उपलब्ध छन् । यी सबै अवसरको सदुपयोग नै अबका दिनका मार्गचित्र हुनु अति जरुरी देखिन्छ । यसका लागि सहमति तथा सहकार्यको चरित्र महत्त्वपूर्ण कडी हो । पर्यटन विकासमा सगरमाथा, औद्योगिक विकासका लागि विराटनगर तथा तराईको सम्भावना, उब्जाउ जमिन, भारत तथा चीनसँगको सीमा व्यापारलगायतका थुप्रै विषय यस प्रदेशका सकारात्मक पक्ष हुन् । कोशी प्रदेशलाई विकास र समृद्धि मार्गमा डो¥याउन सबैको हातेमालो हुनु नै पर्छ । कोशी प्रदेशको समृद्धिले समग्र नेपालको समृद्धिमा योगदान पुग्ने विषयमा कुनै शङ्का छैन । प्रदेश नामकरण आफँैमा गौरवको विषय हो । नामकरणका क्रममा तिता पक्ष विगत भइसकेको अवस्थामा मुलुकका अन्य प्रदेशसँगको सहकार्यमा कोशी प्रदेशवासीको जोड विकास तथा समृद्धिमा हुनुको विकल्प छैन ।