• १३ असोज २०८१, आइतबार

कोशी प्रदेश नामकरणको ताप्लेजुङमा विरोध

blog

कोशी प्रदेश नामाकरणको विरोधमा आयोजित पत्रकार सम्मेलन।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १८ गते। प्रदेश १ को कोशी प्रदेश नामकरण गरिएपछि ताप्लेजुङमा विरोध गरिएको छ। जिल्लास्थित जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दल र केही जातीय तथा धार्मिक संस्थाले कोशी प्रदेश नामकरणको विरोध गरेका हुन्। 

सदरमुकाम फुङ्लिङमा उक्त दल तथा जातीय संस्थाले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रदेश १ को कोशी नामकरण गरिएकोमा आपत्ति जनाएका हुन्। राष्ट्रपतिको निर्वाचन प्रक्रियासँगै धरापमा परेको प्रदेश सरकार र प्रदेश सभाले बुधबार छापामार शैलीमा कोशी प्रदेश नामकरण गरेकोप्रति आफूहरुको गम्भीर आपत्तिसँगै असहमति रहेको जसपा नेपालका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले बताउनुभयो। 

प्रदेश १ को ऐतिहासिक राजनीतिक पहिचानको आधारमा नामकरण गर्नुपर्ने आफूहरुको प्रमुख मुद्दा विपरीत कोशी नामकरण गरिएकोले यसविरुद्ध सशक्त र बलिदानीपूर्ण विद्रोहमा होमिन बाध्य हुनुपर्ने अवस्थामा पु¥याएको मादेनले बताउनुभयो। उहाँले कोशी प्रदेश नामकरण गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै मागको बेवास्ता गरिएमा जस्तोसकै मूल्य चुकाउनलाई आफूहरु पछि नपर्ने पनि बताउनुभयो। 

राजनीतिक दलहरु जसपा नेपालका जिल्ला अध्यक्ष मादेन, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष इन्द्र थलङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष प्रताप चोङ्बाङले प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ। यस्तै जातीय तथा धार्मिक संस्थातर्फ किरात याक्थुङ चुम्लुङका जिल्ला उपाध्यक्ष डम्बर पालुङ्वा र किराँत धर्म साहित्य उत्थान सङ्घका जिल्ला सचिव सरोज कङ्लिबाले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ। 

उक्त दल तथा जातीय धार्मिक संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश विद्रोह, लिम्बुवान, थारुहट लगायतबाट भएको बलिदानीपूर्ण सङ्घर्ष विपरीत षड्यन्त्रपूर्वक ढङ्गबाट कोशी नामकरण गरिएको उल्लेख छ। कोशी प्रदेश नामकरणविरुद्ध हुने आन्दोलनबाट उत्पन्न हुने सबैखाले परिस्थितिको जिम्मेवार राज्य स्वयम् हुनुपर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।