• २० असार २०८२, शुक्रबार

नेपालगन्ज-दिल्ली उडानका लागि सरकारलाई दबाब

blog

नेपालगन्ज–दिल्ली उडानका लागि गठन गरिएको दबाब समूह । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २४ गते । नेपालगन्ज-दिल्ली उडान सुरु गराउन सरकारलाई दबाब दिनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दबाब समूह गठन गरिएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा बाँकेका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन, पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरूको नेपालगन्जमा सम्पन्न छलफल कार्यक्रमले धामी संयोजक रहेको १६ सदस्यीय नेपालगन्ज–दिल्ली उडान दबाब समूह गठन गरेको हो ।

सो दबाब समितिमा बाँकेका अगुवाहरू पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, दिवाकर खनाल, श्रीराम सिग्देल, सुधांशु कोइराला, मीनबहादुर मल्ल, प्रेमबहादुर शाह, राजेन्द्र श्रेष्ठ, करिश्मा योगी, उमा थापा मगर, नन्दलाल वैश्य, नवीन गिरी, रङ्गबहादुर खड्का, आशिष गुप्ता र सदस्य सचिव भीमबहादुर रानाभाट सदस्य रहनुभएको छ ।

समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले नेपालगन्ज–दिल्ली उडान सुरु नहुँदासम्म दबाब जारी राख्ने बताउनुभयो । उहाँले नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय गेटवे समेत भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक रहेको बताउनुभयो ।

चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले, नेपालगन्जबाट औषधी उपचार र अन्य व्यवसायीक कामका लागि दैनिक सयौं नेपाली दिल्ली जाने गरेको र भारतीय पर्यटकहरू पनि नेपालगन्ज भएर पोखरा तथा रारासम्म जाने गरेकोले नेपालगन्ज–दिल्ली हवाई उडान अपरिहार्य भएको दबाब समुहको निष्कर्ष रहेको समुहका सदस्य पर्यटन प्रवर्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

यसअघि सो उडानको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नयाँ दिल्लीस्थित भारतीय राजदूतावास र नेपाल सरकारलाई पत्र पठाएर माग गरिसकेको छ । 

नेपालगन्ज विमानस्थल समेत स्तरोन्नती भइरहेकोले नेपालगन्ज–दिल्ली उडान सम्भव र सहज रहेको तथा बुद्ध एयरले परीक्षण उडान समेत गरिसकेकोले भारत सरकारलाई सहमत गराउन सकिए उडान सम्भव रहेको लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री कृष्णा केसीले बताउनुभयो । 

उता, नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको बताउनुभएको छ ।