• १४ असार २०८१, शुक्रबार

विकास निर्माणका कारण खाल्डाखुल्डी

लापर्बाहीका कारण खाल्डाखुल्डी पुर्न ढिला

blog

खाल्डाखुल्डी परिँदै ।

काठमाडौं, फागुन १८ गते । काठमाडौं उपत्यकाका सडकका परेका खाल्डाखुल्डी समयमै पुर्न सकिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाका सडकहरूमा रहेका खाल्डाहरू महिनादिनमै पुरिसक्न निर्देशन दिनु भए पनि अझै पूर्णरुपमा खाल्डाखुल्डीहरू पुरिएको छैन । ढल व्यवस्थापन, मेलम्ची खानेपानीको पाइप, विद्युतीय तार बिछ्याउन बनाइएका खाल्डाखुल्डी समयमै पुर्न नसकिएका कारण सवारी चालक तथा अन्य यात्रुलाई समस्या भएको भन्दै आलोचना हुने गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी विस्तार आयोजनाका अनुसार खानेपानी विस्तार गर्न पारेका खाल्डाहरू पुरिँदै आए पनि केही ठाउँका खाल्डाहरू पुर्न नसकिएको स्वीकारेको छ । आयोजनाका उपकार्यकारी अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आयोजना अन्तर्गत मेलम्ची खानेपानी विस्तारका लागि खनिएका अधिकांश खाल्डाखुल्डीहरू पुर्दै काम तीव्र पारिए पनि केही ठेकेदार कम्पनीको ढिलासुस्तीले पुर्न नसकिएको हो ।

उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी अन्तर्गतका तीन वटा विभागबाट कामहरू हुँदै आएका छन् । खानेपानी विस्तारका लागि बनाएका खाल्डाहरू अधिकांश पुरिएका छन् । तर केही  ठेकेदारको ढिलासुस्तीका कारण पुर्न सकिएको छैन ।”

तर काठमाडौंमा भएका सबै खाल्डाखुल्डीहरू खानेपानी विस्तारकै कारण भने नरोकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “काठमाडौँमा सडकमा खनिएका सबै खाडलहरू खानेपानी विस्तारकै कारण भएको होइन । यसमा विद्युत प्राधिकरणको तारहरू विस्तार र दूरसञ्चारका विद्युतीय तारहरू विस्तार गर्दा पनि भएको हो ।”

मेलम्ची खानेपानी विस्तारका लागि खानेपानी विस्तारका लागि एघार सय किलोमिटर पाइप बिछ्याउनका लागि मात्र सडक खन्नुपरेको हो । जसमध्ये ६०० किलोमिटर बाटो सबै पुरिएको कार्कीले जानकारी दिनुभयो ।

सडकका खाल्डाखुल्डीहरू पुरिसकेपछि सडक विभागले यस्तै नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार ठेकेदार कम्पनीलाई बारम्बार आग्रह गरिए पनि केही प्राविधिक कारण समयमै खाल्डाखुल्डी पुर्न नसकिएको स्वीकार गर्नुभएको छ ।

“तारहरू बिछ्याउने क्रममा विद्युत प्राधिकरणको क्षेत्राधिकारमा पर्ने ठाउँमा समयमै खाल्डाखुल्डी पुर्न नसकिएको साँचो हो,” उहाँले भन्नुभयो, हामीले छिटो काम सक्न निर्देशन दिने ठेकेदार कम्पनीलाई हो । केही प्राविधिक कठिनाइ हुँदा समयमै काम नसकिएको हो ।” एउटा रुटको काम पूरा भएर बाटो पुर्ने भएको हुँदा सडक पुर्न केही समय लाग्ने गरेको उहाँको भनाइ छ ।

सडकमा परेका खाल्डाखुल्डीका पुर्ने विषयमा भएका समस्या समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५/१५ दिनको अपडेट माग्ने गरेको छ । यस्तै, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेका अनुसार सडकमा डिभिजन कार्यालयले पुर्नुपर्ने सडकका खाल्डाखुल्डीहरू ९५ प्रतिशत पुरिसकिएको बताउनुभयो ।

खानेपानी, ढल व्यवस्थापन तथा विद्युतीय तार बिछ्याउनका लागि बनाइएका खाल्डाहरू भने सम्बन्धित संस्थाहरूलाई नै पुर्न आग्रह गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, काठमाडौं डिभिजन कार्यालयले पुर्नुपर्ने सडकहरू करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पानीका पाइप र विद्युतीय तारहरू बिछ्याउनका लागि खनेका खाल्डाहरू भने सम्बन्धित संस्थाले नै पुर्नुपर्नेछ । उहाँका अनुसार सडकमा बनेका खाडहरु समयमै पुर्नका लागि उच्च स्तरीय संयन्त्र बनाएर नै नियमित अनुगमन तथा निर्देशन दिने काम भइरहेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।