धर्बेन्द्र झा
धनुषा, फागुन १७ गते । मधेश प्रदेशका भाषा, साहित्य, कला र संंस्कृतिको संरक्षण, संवर्धन र विकासका लागि प्रदेश सरकारले गठन गरेको मधेश प्रज्ञा—प्रतिष्ठानको बुधबारदेखि शुभारम्भ गरिएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रुपमा प्रतिष्ठानको कार्यालय उद्घाटन गरी प्रतिष्ठानको शुभारम्भ गर्नुभएको हो ।
मधेशमा बोलिने विभिन्न भाषाको इतिहास पुरानो भएकाले संरक्षणको लागि प्रतिष्ठानले ठोस रुपमा काम गर्नुपर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।उहाँले मैथली भाषाको इतिहास पुरानो भए पनि समृद्ध हुन नसकेको बताउनुहुँदै प्रतिष्ठानले मधेशमा बोलिने सबै भाषाको लागि काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको इतिहास र भूगोलको बारेमा अझै पनि धेरै मान्छेलाई जानकारी नरहेको भन्दै मधेशको इतिहास र भूगोलबारे अनुसन्धान गरी कृत्रि प्रकाशनका लागि प्रतिष्ठानको पदाधिकारीलाई आग्रह गर्नुभयो ।
उहाँले सात प्रदेशमध्ये मधेश प्रदेश पहिचानको आधारमा भएकोमा गर्व गर्नका लागी सबैमा आग्रह गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रामभरोष कापरको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साह, अर्थमन्त्री सञ्जय यादवसहितकाले प्रतिष्ठानलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेकाे प्रतिबद्धता जनाउनुभयाे ।