मीना कंडेल
कावासोती, फागुन १७ गते । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो पटक थिएटरमा नाटक मञ्चन भएको छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान’ नाटक नवलपुरमा पहिलो पटक मञ्चन भएको हो।
विद्यार्थी, शिक्षक, युवा, नेवार समुदाय, वृद्ध वृद्धालगायत सबै समुदायका दर्शकका लागि नाटक उपयुक्त हुने पोखरा थिएटरका निर्देशक परिवर्तनले बताउनुभयो ।
नवलपुरमा पछिल्लो समय विद्यालयहरूले नाटक मञ्चनमा इच्छा देखाइरहेको बेलामा यस कार्यक्रमले झनै हौसला प्रदान गरेको बताइएको छ ।
थिएटरमा उपस्थित भई नाटक हेर्दा विद्यार्थीमा नाटकप्रतिको रुचिलाई थप उजागर गर्न मद्दत पुगेको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
उहाँले नेवार समुदायको यथार्थ घटनालाई नाटकमा चित्रण गरेको बताउँदै नाटक मञ्चनले कक्षा १२ मा रहेको पाठ्यक्रमका लागि विद्यार्थीलाई थप सहज हुने बताउनुभयो ।