• १३ साउन २०८१, आइतबार

काठमाडाैँ उपत्यकामा वायु प्रदूषणकाे प्रभाव

चाँगुनारायण क्यान्सरकाे जोखिममा, दैनिक दुईजना बिरामी सिफारिस हुँदै

blog

भक्तपुरमा चार दर्जनभन्दा बढी इट्टा भट्टा ।

भक्तपुर, फागुन १७ गते । बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको वायु प्रदूषण न्यूनीकरण एवम् रोकथाम विषयक अन्तरक्रिया कार्यक्रममा भक्तपुरको चाँगुनारायण उपत्यकाकै सबैभन्दा प्रदूषित नगर भन्ने तथ्यांकप्रति वक्ताहरूले चिन्ता व्यक्त गरेका हुन्।

सो अवसरमा भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख रिजालले वायु प्रदूषणको अवस्था र त्यसको कारण र न्यूनीकरणका उपाय सुझाउन एक  विशेष समिति (कार्यदल) बनाइने उद्घोष गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले प्रदूषित हुँदा क्यान्सरकाे जोखिम बढेको र प्रत्येक दिन दुई जना बिरामी उपचार सहायताको लागि सिफारिस लिन आउने गरेको खुलासा गर्दै वायु प्रदूषण रोक्न अर्को वर्षदेखि इट्टा भट्टा सञ्चालन गर्न नदिने उद्घोष गर्नुभयो ।

आफूलाई करको भन्दा नागरिकको ज्यानको माया भएको जिकिर गर्दै उहाँले वैकल्पिक व्यवसाय रोज्न आग्रह गर्नुभयो । भक्तपुरमा चार दर्जनभन्दा बढी इट्टा भट्टा छन् ।


व्यवसाय स्थानान्तरण गर्दा वा व्यवसाय छोड्दा हुनसक्ने नोक्सानको क्षतिपूर्ति नगरपालिकाले गरिदिने समेत उहाँले आश्वासन दिनुभयो ।

इट्टा व्यवसायी सङ्घका सचिव आशाराम वैद्यले विना अध्ययन प्रदूषणको सम्पूर्ण दोष इट्टा भट्टालाई दिनु अन्यायपूर्ण हुने बत्ताउनुभयो । भक्तपुरको इट्टा उद्योगले वार्षिक ३० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको दाबी गर्दै उहाँले इट्टा भट्टालाई व्यवस्थित र प्रदूषणरहित प्रविधिको लागि आफूहरू तयार रहेको दाबी गर्नुभयो ।

मानव बस्ती बाहिर इट्टा भट्टा राखिएको भए पनि आफूहरूले बाटो बनाएपछि बस्ती आएर बसेको भन्दै उहाँले जहाँ स्थानान्तरण गरे पनि बस्ती बढ्नसक्ने सम्भावना उत्तिकै रहेकाले स्वदेशी लगानी र रोजगारदाता इट्टा भट्टालाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बत्ताउनुभयो ।


 अन्तरक्रियामा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख प्रा.डा. विष्णुदत्त पौडेलेले वायु प्रदूषणका कारण क्यान्सर जोखिम बढ्ने बताए पनि इट्टा भट्टाका कारण कति जोखिम भयो भन्ने बारे विना अध्ययन केही भन्न नसकिने बत्ताउनुभयो ।

उक्त अवसरमा स्वच्छ वायु प्रवर्द्धन सञ्जाल र जिल्ला बन कार्यालयका वातावरण विज्ञ सङ्गीता डंडेख्या र हिक्मत सिंह लेकालीलगायतले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा वार्षिक ४२ हजार भन्दा बढी मानिसको मृत्यु वायु प्रदूषणका कारण हुँदै आएको र उपत्यकामा मात्रै पाँच हजारभन्दा बढीको ज्यान वायु प्रदूषणका कारण जाने गरेको जानकारी गराउनुभयो ।

एक मानिसका लागि आठ रुख आवश्यक रहेको भन्दै प्रदूषण नियन्त्रणमा रूखबिरुवाको महत्त्वमाथि समेत प्रकाश पारिएको थियो ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका भक्तपुर सचिव सञ्जीप घिमिरेले वायु प्रदूषण न्यूनीकरणका लागि प्रतिवेदन कार्यान्वयनमा इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तरक्रियामा सामाजिक अभियन्ताहरू नवराज काफ्ले, मधु ढुङ्गेल, नरेश रञ्जित, विभिन्न संघसस्थाका प्रतिनिधि एवं सरकारी कार्यालयका प्रमुखहरूलगायत सहभागिता थियो । – सञ्जीप शुभचिन्तककाे सहयाेगमा