• १३ असोज २०८१, आइतबार

पाथीभरा क्याम्पसमा क्रान्तिकारीको इकाई कमिटी गठन

blog

अखिल क्रान्तिकारी पाथीभरा बहुमुखी क्याम्पस इकाइ कमिटीका पदाधिकारीलगायत ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १६ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गरी ताप्लेजुङमा विद्यार्थी सङ्गठनहरूले आफ्नो सक्रियता बढाएका छन् । विभिन्न विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा नतिजा आफ्नो पक्षमा पर्ने उद्देश्यसहित सक्रियता बढाएका हुन् । 

विद्यार्थी सङ्गठनहरूको सक्रियतासँगै ताप्लेजुङको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा इकाई कमिटी धमाधम गठन गर्न थालिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मङ्गलबार क्याम्पसमा इकाई कमिटी गठन गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारीले मोहन बान्तवा राई अध्यक्ष रहेको ४५ सदस्यीय पाथीभरा बहुमुखी क्याम्पस इकाई कमिटी गठन गरेको हो । इकाई कार्यसमिति उपाध्यक्ष द्वयमा विजयदीप राई र सम्झना भट्टराई, सचिवमा राज गुरुङ, सहसचिव सुजन अन्छङ्बो र कोषाध्यक्षमा मनीषा न्यौपाने रहनुभएको छ । 

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य किरण लिङ्देन, प्रदेश १ समितिकी सचिव टीका याक्सोलगायतको उपस्थितिमा क्याम्पस इकाई कमिटी गठन गरिएको क्रान्तिकारीका जिल्ला अध्यक्ष झरेन्द्र तिवारीले जानकारी दिनुभयो । पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले पनि इकाई कमिटी गठन गरिसकेको छ ।