• १३ असोज २०८१, आइतबार

काठपातको मात्र वृक्षरोपण, पशु आहार अभाव

असुरक्षित हुँदै वन्यजन्तु, दैनिक दुर्घटनामा मारिँदै

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १६ गते । घना जङ्गल अतिक्रमणमा परेपछि जङ्गली जनावर असुरक्षित हुन थालेका छन् । वैज्ञानिक वनका नाममा सर्पट कटान हुने र साल, कर्मा, अस्ना बाहेक अरु वनस्पतिको संरक्षण नगर्ने सामुदायिक वनको नीतिले बसोबास मासिँदैछ। १२ महिनामै मानिसहरू जङ्गल पस्ने भएकाले जङ्गली जनावर असुरक्षित छन् । जङ्गली साग निगुरो खोज्ने, दुना टपरीका लागि पात खोज्न , दाउरा खोज्ने, रातोमाटो र कमेरो लिन मानिस ३६५ दिनै जङ्गलमा पुग्छन् । 

पछिल्लो समय जङ्गली जनावरको चोरी शिकारी र तस्करी बढेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा एउटा नीलगाई र दुईवटा चित्तल चोरीतस्करी गरिरहेको अवस्थामा तस्करलाई पक्राउ गरी मुद्दा दायर गरिएको थियो । 

‘जङ्गली जनावरहरू मानव बस्तीमा सुरक्षित हुन थालेका छन् । शिकारीले बिच्काएका जङ्गली जनावर बस्तीमा भेटिनु यसैको कारण हो,’ ठाकुरले भन्नुभयो । आव ०७७/०७८ मा रङ्गेली –३ मा र विराटनगर एयरपोर्टको कम्पाउण्डभित्र नीलगाई भेटियो । जङ्गलमै बसोबास गर्ने चरा, कछुवा, माउसुली, सुनगोहोरोे, हुचिललगायत जीवजन्तुु डिभिजन वन कार्यालयले उद्धार गरी सामुदायिक वनलाई संरक्षण गर्न दिएका छौं । जङ्गलमा साल, कर्मा र अस्ना बाहेकका वनस्पति छैनन् ।

काठपातको वृक्षरोपण, जङ्गली जनावरका लागि अनुपयुक्त 

२०५२ सालमा सामुदायिक वनको अवधारण आएपछि नेपालमा वनक्षेत्र विस्तार भएको तथ्याङ्क हरेक वर्ष सार्वजनिक भइरहेका छन् । सामुदायिक वनले वन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको वन विस्तारको अभियानमा लागेका अभियन्ताहरूको भनाइ छ । तर अभियानले मानिसले प्रयोेग गर्न उपयोगी जातका काठपातको मात्र वृक्षरोपण गरेका छन् । जसले गर्दा वन क्षेत्र जङ्गली जनावरका लागि उपयुक्त भएन । 


सामुदायिक वन महासङ्घ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले भन्नुभयो– ‘जङ्गली जनावरले खाने फलफूलका वनस्पति शून्य भएका छन् । अग्ला रुख मात्र होइन, साना बुट्यानहरू जसले पर्यावरणको रक्षा गर्दै हिँड्डुल गर्ने जङ्गली जनावरहरूको वासस्थानका रुपमा प्रयोगमा थिए । ती वनस्पति पनि अनेक अभियानका नाममा फाँडिए । वनस्पति कोइला बनाउने अभियानले साना बुट्यानहरू सखाप भए । अहिले आएर अभियन्ताहरूको आँखा खुलेका छन्,  उहाँले भन्नुुभयो । 

पौडेलका अनुसार अहिले बाँदरले खाने फलफूल जन्य वनस्पति जङ्गलमा छैनन् । त्यसैले बाँदर र अरु जङ्गली जनावरहरू मानव बस्ती र राजमार्ग वरपर भेटिन्छन् । 

बसोबास मासिएकाले बाँदर गाउँघरतिर

बाँदर विज्ञ डा. सबिना कोइरालाका अनुसार बाँदरको प्राकृतिक बसोबास मासिएकाले बाँदरहरू गाउँघरतिर छिरेका हुन् । बाँदर मात्र होइन । खरायो, दुम्सी, स्याल, वनकुकुर, चितुवा गाउँ छिरेका छन् । 

वन भनेको साल, कर्मा र अस्नाका ठूला रुख मात्र हुन् भन्ने बुझाइले हाम्रो वातावरणीय सन्तुलन बिग्रिएको उहाँ बताउनुहुन्छ । डा. कोइरालाका अनुसार बाँदरमा प्राकृतिक बसोबास बदल्न सक्ने क्षमता भएकाले बाँदर अहिले पनि घटेका छैनन् । तर, अरु प्रजातिका जङ्गली जनावरको बसोबास सुरक्षित नगरिदिने हो भने ती पशुहरू लोप हुन सक्नेछन् । 

‘२०४५ सालसम्म मोरङको पूर्वपश्चिम राजमार्ग उत्तरको जङ्गलमा गाई लिएर गोठालो जाँदा हामी खाजा बोकेर जाँदैनथ्याैं । जङ्गलमा वनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम खान पाइन्थ्यो ।’ मोरङको कानेपोखरी –७ का इन्द्रप्रसाद कोइरालाले भन्नुभयो– ‘बाँदरले खाएर नसकेका उभ्रिएका हामी खान्थ्यौं । गाउँघरतिर बाँदर, खरायो, दुम्सी, स्याल देख्न पाइँदैनथ्यो । तर, अहिले जङ्गलमा  बनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम केही छैन ।’  उहाँले जङ्गली फलफूल नभएको र जङ्गलको झाडी मासिएकाले वन्यजन्तु गाउँ पसेको बताउनुभयो । 

दैनिक सडक दुर्घटनामा मर्छन् पशु 

मोरङको बेलबारीदेखि पूर्व पथरीशनिश्चरेकोे सुनझोडा खोलाबीचको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा बाँदर, हरिण, चित्तल र मृगले दैनिकजसो दुर्घटना गराउने गर्छन् । डिभिजन वन कार्यालय मोरङले सडक दुर्घटनामा मरेका र घाइते भएका जङ्गली पशु जनावरको तथ्याङ्क राखेको छैन । तर बेतना पूर्व सुनझोडाबीचको राजमार्ग क्षेत्रमा हप्तामा एउटा जङ्गली जनावर मर्ने गरेको वन प्राविधिकहरू बताउनुहुन्छ ।