• २२ वैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यकामा स्मार्ट शौचालय निर्माण अझै अन्योल

blog

जग्गा प्राप्ति मुख्य समस्या 

काठमाडौँ माघ १६ गते । काठमाडौँ महानगरले निर्माण गर्ने भनेको स्मार्ट शौचालयको काम ओझेलमा परेको छ । महानगरका मेयर बालेन्द्र साहले यस आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय बनाउने बताए पनि यसको प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन ।

मेयर साह अवैध संरचना हटाउने र फुटपाथ व्यापार हटाउने काममा लागेपछि स्मार्ट शौचालय निर्माणको कामले खासै चर्चा पाउन सकेन । काठमाडौँ महानगरका भौतिक महाशाखा प्रमुख रामबहादुर थापाका अनुसार जग्गा प्राप्तिमा समस्या भएका कारण स्मार्ट शौचालयको काम सुरु नै हुन नसकेको हो । 

शौचालय निर्माणका लागि सरकारी जग्गा भेटिएको तर महानगरको स्वामित्वमा भएको जग्गा नभेटिएकाले सरकारसँग जग्गा मागेर नै काम सुरु गर्नुपर्ने कानुनी जटिलता 

उहाँले भन्नुभयो, “स्मार्ट शौचालय निर्माणका लागि जग्गाप्राप्ति नै चुनौतीको विषय बनेको छ । अहिले महानगरको स्वामित्वमा जग्गा नभएका कारण समस्या भएको छ ।” अहिले भएका शौचालयहरूलाई व्यवस्थित गर्ने र थप नयाँ स्मार्ट शौचालय बनाउने महानगरको बैठकमा निर्णय भए पनि काम भने सुरु हुन सकेको छैन ।

शौचालय निर्माणका लागि सरकारी जग्गा भेटिएको तर महानगरको स्वामित्वमा भएको जग्गा नभेटिएकाले सरकारसँग जग्गा मागेर नै काम सुरु गर्नुपर्ने कानुनी जटिलता निम्तिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “स्मार्ट शौचालय निर्माण अहिले देखिएको मुख्य समस्या भनेको जग्गाको नै हो  । शौचालयका लागि जग्गा खोज्दै सरकारी जग्गा त कतै गुठी संस्थानको जग्गा भेटिन्छ । त्यस कारण जग्गाप्राप्ति मुख्य समस्या बनेको छ ।”

जग्गा प्राप्त भएपछि भने स्मार्ट शौचालय निर्माण धमाधम नै अघि बढ्ने उहाँको भनाइ छ । महानगरको योजनामा पनि स्मार्ट शौचालय रहेको र जग्गा प्राप्ति मै समस्या हुँदा काम सुरु हुन नसकेको उहाँको भनाइ छ । 

महानगरमा भएका सार्वजनिक शौचालयको अवस्था ज्यादै  नाजुक रहेको र सरसफाइ  पनि नभएको भन्दै महानगरको विरोध हुँदै आएको छ ।  

महानगरमा शौचालयको अवस्था 

अहिले महानगरमा कुल  ५८ वटा सार्वजनिक शौचालय छन् । चार वटा सार्वजनिक शौचालय जीर्ण र प्रयोगविहीन भएकाले पूर्ण रूपमा नै भत्काएको थापाले बताउनुभयो । 

थापाका अनुसार महानगरका पुराना शौचालयलाई केही सुधार गर्दै लैजाने महानगरको योजना छ । अहिले महानगरले शौचालयहरूको निरीक्षण गरिरहेकाले शौचालयहरूको अवस्था यकिन गरी सुधार गर्दे लैजाने उहाँको भनाइ छ ।

जग्गा प्राप्त भएपछि भने स्मार्ट शौचालय निर्माण धमाधम नै अघि बढ्ने

उहाँले भन्नुभयो , “महानगर भित्रका सबै सार्वजनिक शौचालयको महानगरले निरीक्षण जारी राखेको छ ।  शौचालय पुरानो र फोहोर भएको पाइए त्यसलाई मर्मत सम्भार गर्दै लैजाने छौँ ।” कतिपय शौचालयहरू पहिलेदेखि नै निजी क्षेत्रलाई भाडामा दिइएकाले ती शौचालयहरू फोहोर भएको रिपोर्ट आइरहेको उहाँले स्विकार्नुभयो । 

उहाँले भन्नुभयो, “महानगरभित्रको अधिकांश शौचालयहरू निजी क्षेत्रलाई मासिक निश्चित रकम तोकेर भाडामा दिइएको छ । ती शौचालयहरू दुर्गन्धित भएको भनेर गुनासाहरू आइरहेका छन् । अनुगमन गरेर कमजोरी सुधार्न भन्छौँ ।” 

त्रिपुरेश्वर, स्वयम्भू, नयाँ बानेश्वर र धुम्बाराहीमा मात्र महानगरका स्मार्ट शौचालय छन् । यी बाहेक अन्य शौचालय भने पुरानो शैलीमा नै निर्माण भएका छन्  ।

के हो स्मार्ट शौचालय ?

स्मार्ट शौचालय प्रविधिको बढी उपयोग हुने शौचालय हो । धारा र बत्तीमा सेन्सर जडान गरिएको हुन्छ । जसले गर्दा पानी र विद्युतकाे खपतमा मितव्यायिता हुने गर्दछ ।  

महिलाका लागि अति आवश्यक सेनिटरी प्याड, हात धोएपछि सुकाउने मेसिनको पनि व्यवस्था गरिएको हुन्छ । स्मार्ट शौचालय अपाङ्ग मैत्री हुन्छ । जहाँ सहजै प्रवेशका लागि द्वार निर्माण गरिएको हुन्छ । 

स्मार्ट शौचालयको मलमूत्रलाई बायो ग्याँस निर्माणका लागि प्रयोग गरिन्छ । बायोमेट्रिक प्रविधि अन्तर्गत शौचालयमा सुरुमै ब्याक्टेरिया राखिने भएकाले सेप्टी ट्याङ्की भरिने वा उठाएर फाल्नुपर्ने अवस्था आउँदैन ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।