• १८ भदौ २०८१, मङ्गलबार

आलोचकीय कर्मको मर्म

blog

लोकतान्त्रिक पद्धतिको प्रवद्र्धनका लागि महत्त्वपूर्ण आलोचकीय भूमिका निर्वाह गर्ने चौथो अङ्गमा यतिखेर आसन्न नयाँ राष्ट्रपति चयनको विषय प्रमुख रूपमा छाइरहेको छ । पार्टीको ठूलो नेताले भनेको ठ्याकै मान्ने कार्यकर्ता राष्ट्रपति हुनुपर्छ भन्ने एउटा कोण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध प्रबुद्ध व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने अर्को कोणबीच द्वन्द्व देखिएको छ ।

यसैबीच ७३औँ प्रजातन्त्र दिवसका अवसरमा जनकपुरको एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले “दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ” भन्ने अभिव्यक्ति दिनुभएको छ । यस सन्दर्भमा मिडियाको आलोचनात्मक सिद्धान्तअनुसारको जन्ड सुधार–केन्द्रित राजनीतिक सञ्चार अगाडि बढाउन नसकिएको तथ्यलाई अस्वीकार गर्न सकिन्न । नवउदारवादी अर्थतन्त्रअन्तर्गतको कर्पोरेट पोलिटिक्सको चङ्गुलमा कतै राजनीतिक वृत्तको केन्द्रीय स्नायु प्रणाली फँसिरहेको त छैन भन्ने प्रश्न उठिरहँदा लोकतन्त्रको रक्तसञ्चार प्रणालीका रूपमा अङ्गीकार गरिएको चौथो अङ्गको आलोचकीय कर्मको मर्मबारे सङ्क्षिप्त चर्चा गर्नु वाञ्छनीय हुन्छ । 

अमेरिकी राजनीतिशास्त्री तथा प्रसिद्ध सञ्चार सिद्धान्तकार ह्यारोल्ड लास्ओएलले भनेजस्तै चौथो अङ्ग समाजकै सर्वेक्षण गर्ने, सूचना सम्प्रेषण गर्ने र समाजका विविध सरोकारवाला पक्षलाई जोड्ने पुलका रूपमा क्रियाशील हुन्छ । ज्ञान, गुण र विज्ञानसम्बन्धी सूचना प्रवाहित गरी यथार्थपरक तथा बहुलवादी प्रकृतिको नीति निर्माण गर्न सघाउने चौथो अङ्ग आफ्नो विवेचकीय भूमिकाको हिसाबले विशाल वैचारिक प्रयोगशालासमेत हो भन्दा अमिल्दो नहोला । यद्यपि हामीले यस क्षेत्रलाई कति सक्षम, विविधतायुक्त, समावेशी र बहुलवादी बनाउन सक्यौँ÷सकेनौँ, त्यो छुट्टै खोज र संवादको विषय बन्न सक्छ ।

सधैँ औँलो ठड्याउने, घोच्ने, दबाब र तरङ्ग प्रवाहित गरी समाज र यसका अगुवा वा जिम्मेवारीवहनकर्तालाई विस्मृतिमा निदाउन नदिई झक्झकाउने भूमिकामा रहेको चौथो अङ्ग राज्यकै एक स्थायी प्रतिपक्षजस्तो देखिनु यसको महìवपूर्ण विशेषता हो । यस्तो विवेचकीय भूमिकामा रहेको चौथो अङ्गलाई लोकतान्त्रिक परिपाटीभित्रै शक्ति प्राप्तिका लागि अस्त्रका रूपमा दुरुपयोग गरिनुहुन्न भन्ने तर्कसँग को असहमत होला र ? विशेषतः लुप्त वा स्रोतले दिन नचाहेको सूचना बृहत जनहितका पक्षमा उजागर गर्ने चौथो अङ्गलाई अमैत्रीपूर्ण दृष्टिले नभई लोकतान्त्रिक मर्मबमोजिम नै नियन्त्रण र सन्तुलनको एक महìवपूर्ण चालू प्रक्रियाका रूपमा बुझ्नु वैज्ञानिक ठहर्छ । 

चौथो अङ्गको आलोचकीय कर्मबारे स्पष्ट हुने क्रममा विरोध र आलोचनाबीचको मौलिक भिन्नताबारे सजग हुनुपर्छ । विरोध मुख्यतः प्रतिरोध, असहमति, प्रतिद्वन्द्विता वा आफ्नो विपक्षीलाई विफल पार्ने अभिप्रायसँग सम्बन्धित हुन्छ तर समाज र समाजका प्रभावशाली पात्रहरूको आँखा खोल्ने, जनताको जीवनलाई असर पु¥याउने विषयप्रति सरोकारवाला पक्षलाई खबरदारी गर्ने, समस्याका कारण, असर र सम्भाव्य समाधानका उपायसम्बन्धी सूचना विविध स्रोतबाट खोजेर सार्वजनिक गरिदिने कर्म चौथो अङ्गको हुन्छ । आमनागरिकलाई सुसूचित एवं अनौपचारिक तबरले शिक्षित पार्दै उनीहरूको विवेकलाई थप फराकिलो र तीक्ष्ण पार्ने जिम्मेवारीसँग चौथो अङ्गको आलोचकीय कर्म अकाट्य रूपमा गाँसिएको हुन्छ । 

चौथो अङ्गको हैसियतमा स्थापित पत्रकारिता क्षेत्रले लोकतान्त्रिक सिद्धान्त र व्यवहार अनुकूलको सामाजिक मनोविज्ञानको निर्माणमा निर्णायक भूमिका निर्वाह गर्छ । बृहतम सार्वजनिक चासोप्रति अदम्य रुचि, सार्वजनिक हितमा इमानदार बौद्धिक अभ्यास गर्ने नैतिक साहस, सोबमोजिमको अक्षुण्ण मानसिक कसरत गरिरहने प्रतिबद्धता (जस्तै– गहन अध्ययनशीलता, निरन्तर अन्वेषण गर्ने बानी)जस्ता गुणले सशक्त पत्रकार निर्माण गर्न महìवपूर्ण भूमिका निर्वाह गर्छन् । 

सूचनाको सबल र दुर्बल पक्षको आग्रहरहित प्रशोधन र समालोचना गर्न सक्ने सामाजिक मनोविज्ञानको विकास अहोरात्र भइहाल्दैन । भारी मात्रामा सतहीकृत भएको सामाजिक मनोविज्ञानलाई अलोचकीय एवं विश्लेषणात्मक मनोवैज्ञानिक ढाँचाद्वारा प्रतिस्थापित गर्न पारिवारिक, सामुदायिक र विद्यालय तहमा तत्सम्बन्धी शृङ्खलाबद्ध कसरत आवश्यक पर्छ । अझ समकालीन चरम् उपभोक्तावादी संस्कृतिको चङ्गुलमा जाकिएको सामाजिक मनोविज्ञानलाई घटना र वस्तुप्रति अन्तर्दृष्टि राख्ने प्रकृतिको आलोचकीय एवं विश्लेषणात्मक क्षमताले लैस गर्ने काम कठिन छ । 

जति कठिन भए पनि लोकतन्त्र र लोकतान्त्रिक संचारलाई नागरिक तहमा सिञ्चित गर्न मानसिकताको सतहीकरणलाई उल्ट्याएर सशक्तीकरण गर्न सरोकारवाला पक्षको सक्रियता आवश्यक छ । यसका निम्ति चौथो अङ्गको आलोचकीय भूमिकालाई अझ तिखार्दै लानुपर्ने चुनौती छ । समाजभित्रका अनेक क्रियाकलाप र घटनाबारे सम्प्रेषित हुने सूचना र फरक फरक पृष्ठभूमिमा आधारित दृष्टिकोणले समाजको मानसिकतालाई थप फराकिलो पार्न सघाउँछ । विवेचनाका लागि चौथो अङ्गले उपलब्ध गराउने मञ्चले समाजको आलोचकीय क्षमतामा 

वृद्धि गर्छ । 

बहस, छलफल र अन्तक्र्रियाका लागि चौथो अङ्गले गर्ने सहजीकरण यस सन्दर्भमा महìवपूर्ण हुन्छ । त्यस्तो प्रकारको सहजीकरण तब नै बढी प्रभावकारी हुन्छ जब चौथो अङ्ग स्वयं बृहत् सार्वजनिक हितको मनोढाँचा, रूपान्तरणकारी मनसाय र विषयगत विज्ञताद्वारा सुसज्जित हुन्छ । चौथो अङ्गले सार्वजनिक चासोका विषयमाथि समाजको ध्यानाकर्षण गर्दै जाँदा नागरिकले कारण, असर र समाधानबारे बहस चाहनु स्वाभाविकै हो । यस सन्दर्भमा चौथो अङ्गले उपलब्ध गराउने सार्वजनिक बहसको मञ्चमा हुने नागरिक सञ्चारको अभ्यासले चौथो अङ्गको आलोचकीय कर्मको मर्मलाई थप प्रस्ट पार्छ । 

अरूको गल्ती औँल्याउन सजिलो र रमाइलो मान्नु मान्छेको स्वभाव हो तर आफैँले आफ्ना कमीकमजोरी देख्न कठिन हुन्छ । यसकारण जनताको समग्र विकासका लागि अपराध नियन्त्रण र सुशासनका निम्ति चौथो अङ्गको सर्वेक्षकीय एवं आलोचकीय भूमिकाको दरकार पर्छ । पत्रकारिताको दुनियाँमा बहुचर्चित तात्त्विक कृति ‘दी एलेमेन्ट्स अफ जर्नलिज्म’का लेखकद्वय बिल कोवाच र टम रोजनस्टिलले कुनै शक्तिबाट पनि प्रभावित नभई निगरानीको भूमिका निर्वाह गर्दै स्रोतबाट प्राप्त तथ्यलाई सूक्ष्म रूपमा प्रमाणीकरण गरी जनवफादारितासहित सत्य सूचना दिनुपर्नेमा जोड दिएका छन् । 

यसको सिधा अर्थ हुन्छ– चौथो अङ्गको विवेचकीय भूमिका नै यसको मूल मर्म हो । नेपालको सन्दर्भमा व्यक्ति–केन्द्रित ‘ह्याफ्याजर्ड’ बहसमा रुमल्लिरहेको चौथो अङ्गभित्रको प्राइम बहस अब वैचारिक, सैद्धान्तिक र नीतिगत बहसमा रूपान्तरित हुनुपर्छ । यसरी मात्र चौथो अङ्गको आलोचकीय कर्म वैज्ञानिक धरातलमा उभिन सक्नेछ । 

यस सम्बन्धमा चौथो अङ्गले अरू सब सरोकारवाला पक्षमाथि विवेचना गर्ने जिम्मेवारी वहन गरिरहँदा स्वयं चौथो अङ्गको विवेचना चाहिँ कसले गर्छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । पत्रकारिता मूलतः विश्वव्यापी सिद्धान्तमा आधारित भएर गरिने अभ्यास भएकाले स्पष्टै छ, चौथो अङ्ग स्वयंले स्थापित मान्यताअनुरूप सही सम्पादकीय नीति तथा मार्गदर्शन र आचारसंहिताको सजगतापूर्वक पालना गर्नु पहिलो र आन्तरिक उपाय हो ।

आन्तरिक अभ्यासअन्तर्गत नै दैनिक टिम ब्रिफिङ पनि सुधारको दृष्टिले महत्वपूर्ण ठहर्छ । त्यस्तै आलेख, स्तम्भ वा प्रबुद्ध सूचनाग्राहीले सम्प्रेषण गर्ने सुझावमा पनि चौथो अङ्गमाथिको विवेचकीय भूमिका निहित हुन्छ । विधिगत रूपमा भने प्रेस काउन्सिलले चौथो अङ्गको अनुगमन गरेर आवश्यक सचेतनाका लागि काम गर्दछ । यसका अलावा पत्रकार महासङ्घको पनि साङ्गठनिक एवं नैतिक भूमिका महत्त्वपूर्ण हुन्छ । नियन्त्रण र सन्तुलनको सिद्धान्त चौथो अङ्गलाई पनि लागू हुन्छ । प्राज्ञिक वृत्त र स्वयं सचेत सूचनाग्राही नागरिक वा सरोकारवाला पक्षले त्रुटि औँल्याइदिएर चौथो अङ्गको कार्यसम्पादन थप गुणस्तरीय बनाउन सघाउन सक्छन् ।