• १७ भदौ २०८१, सोमबार

सार्वजनिक यातायात : बिना परीक्षण हुइकिँदा बर्सेनि दुई हजारको जान्छ ज्यान

blog

काठमाडौं, भदौ १७ गते । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा मात्रै सडक दुर्घटनाबाट १२ हजार ३७१ जनाले अकालमा ज्यान गुमाए । 

असुरक्षित सडक एवम् यातायात पूर्वाधारका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरुले बताउने गरेका छन् । अरुबेला भन्दा वर्षायाममा निरन्तर वर्षासँगै बाटोहरु जम्ने, खाल्डाखुल्डी हुने, सडक चिप्लने, हिलो सडकमा ब्रेक नलाग्नेलगायत विविध कारणवश सडक दुर्घटना हुने गरेको छ । 

कसरी हुन्छ दुर्घटना ?

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकसमेत रहनुभएका यातायात विज्ञ आशिष गजुरेलले असुरक्षित सडक पूर्वाधारका कारण सडक दुर्घटना हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “एक त, हाम्रो सडक पूर्वाधार नै असुरक्षित छ । एकदम पूर्णरुपमा इन्जिनियर मापदण्ड पूर्ण भएको कुनै पनि सडकहरु छैन । अर्को कुरा भीर बग्ने, पहिरो जाने, ढुङ्गा खस्ने यी समस्या छन् । त्यो बाहेक सडकमा हिलो हुँदा चिप्लने, ब्रेक नलाग्ने, पानी परेको बेला चालकले राम्रोसँग बाटो नदेख्ने हुन्छ ।”

उहाँले सडक सुरक्षा कार्यक्रममा राज्यको ध्यान पुग्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “समस्या के छ भने राज्यबाट सडक सुरक्षामा सुधार कार्यक्रममा लगानी भएको छैन । सडकहरु भिरालो भूभागमा छन् । रोड सेफ्टी बार लाइदिनसक्ने हो भने दुर्घटना हुँदा पनि  सवारी भीरबाट खोलामा त खस्दैन । त्यतातिर हामीले ध्यान दिन सकेका छैनौं ।”

मुख्य तीन त्रुटि :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार, यान्त्रिक गडबडी र मानवीय त्रुटि गरी मुख्य तीन कारणले सडक दुर्घटना हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक दुर्घटनाका बढी तीनवटा कारण छ । सडक पूर्वाधार, यान्त्रिक गडबडी या मानवीय त्रुटि हो । यी तीनै कुरामा समाधान पनि छन् । पूर्वाधारको काम कसले गर्ने ? यातायात व्यवसायी आफैंले यान्त्रिक जाँच गर्ने कुरा आएन । विभिन्न ठाउँमा अस्वस्थ प्रतिस्पर्धा पनि छ।”

उहाँले बजारमा सवारी साधनका डुब्लिकेट मोटर पार्टस् आउने गरेको तर यसको अनुगमन हुन नसकेको बताउनुभयो । खासगरी, नेपाल–भारत सीमामा ठूलो खुला क्षेत्र रहेका कारण पनि यसो भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यस पटक गएको असारदेखि नै असोजसम्म भारी वर्षा हुने, प्राकृतिक प्रकोप आइलाग्ने, जनतालाई सास्ती हुने र यो कोशी र गण्डकी प्रदेशमा अत्यधिक हुने भनेर सूचना आइरहेको छ । शाखा, उपशाखा सडक एक्जाभेटर र डोजरहरुले बनाएका छन् । कतिपय हाइवे बिना इन्जिनियर पनि बनाएका छन् ।” जसकारण, सडक दुर्घटनाको जोखिम अझ बढेको उहाँको भनाइ छ । 

उहाँले वर्षौ ढिलासुस्ती गरेर निर्माण गरिएको सडक पनि गुणस्तरहीन हुने गरेको बताउनुभयो । 

प्रभावविहीन सवारी परीक्षण केन्द्र :

सरकारी संयन्त्र ‘सवारी साधन फिटनेस परीक्षण केन्द्र’ प्रभावकारी हुन नसक्दा पनि सडक दुर्घटनामा कमी आउन नसकेको हो । 

रिजालले भन्नुभयो, “निजी सवारी साधनको हकमा पैसा हुनेले कन्डिसनमा राख्नुहुन्छ । सार्वजनिक यातायातको हकमा कन्डिसनमा छ कि छैन भन्ने एकदमै ठूलो प्रश्न छ । उनीहरुलाई तिमीहरु नै कमाओ, खाओ भनेर छाडा छोडिदिएको स्थिति छ ।

उहाँले सार्वजनिक यातायातका साधन कन्डिसनमा छ भन्ने प्रत्याभूतिका लागि वर्षमा राज्यले कम्तीमा चार पटक चेकजाँच गरेर यातायात कार्यालयमा बुझाउनुपर्ने नियम ल्याउन आवश्यक देखिएको बताउनुभयो ।

यसैगरी, सिटौलाले पनि सवारी परीक्षण केन्द्रको गतिविधि प्रभावकारी नभएको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, “सवारी परीक्षण केन्द्र प्रभावकारी भएन । सात प्रदेशमा कुन गाडी कहाँबाट ल्याउने भयो । जस्तै, भेहिकल टेष्ट गर्न ताप्लेजुङबाट इटहरी आउनुपर्छ । परीक्षण केन्द्र जिल्ला–जिल्लामा राख्नुपर्‍याे । दुर्घटना भयो भने चाहिँ खर्बौ क्षति हुन्छ, यातायातलाई राज्यले प्राथमिकतामा नै राखेन ।”

उहाँले हावाका तालमा सवारी साधन आयात हुनेलगायत आदि कारण पनि मापदण्ड नपुगेका सवारी साधनहरु सञ्चालन हुने गरेको बताउनुभयो । 

वर्षमा दुई हजारभन्दा बढीको मृत्यु :

पछिल्ला पाँच वर्षको तथ्याङ्कलाई मात्र हेर्ने हो भने वर्षेनि सडक दुर्घटनाबाट दुई हजारभन्दा बढी मानिसको अकालमा ज्यान जाने गरेको देखिन्छ । 

आर्थिक वर्ष २०८०-८१ मा देशभर २२ हजार ९२७ वटा सडक दुर्घटनामा परी दुई हजार ३६९ जनाको ज्यान गयो । २५ हजार ९९६ जना साधारण घाइते र छ हजार १६० जना गम्भीर घाइते भए । 

आर्थिक वर्ष २०७९-८० मा २३ हजार ५९७ वटा सडक दुर्घटनामा दुई हजार ३६८ जनाले ज्यान गुमाए । २४ हजार ४८८ साधारण घाइते र पाँच हजार ७३८ गम्भीर घाइते भए ।

आर्थिक वर्ष २०७८-७९ मा २४ हजार ५३७ वटा दुर्घटनामा परी दुई हजार ८८३ जनाको ज्यान गयो । २५ हजार ७२२ साधारण घाइते र सात हजार २८२ जना गम्भीर घाइते भए ।

आर्थिक वर्ष २०७७-७८ मा २० हजार ६४० वटा सडक दुर्घटना भए । जसमा,  दुई हजार ५०० जनाको ज्यान गयो । १८ हजार ६०० साधारण घाइते र चार हजार ६१५ गम्भीर घाइते भए ।

यसैगरी, आर्थिक वर्ष २०७६-७७ मा १५ हजार ५५४ सडक दुर्घटना भयो । सो वर्ष दुई हजार २५१ जनाले ज्यान गुमाए । ११ हजार २१९ साधारण घाइते र चार हजार ६१५ जना गम्भीर घाइते भएका थिए ।

सडक दुर्घटनामा घाइते भएकाको जीवन बचाउनका लागि आपतकालीन उद्धारला प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव  छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।