गोकर्ण दयाल
बैतडी, भदौ १७ गते ।
इजरिया भावरिया काँधमा बौसिया
कर्महारा गरिबको मन भने हौसिया !
कुनै बेला पहाडमा कोदालो (‘इजरिया’ बौँसो) ले पाखोबारी खन्दा पनि वर्ष दिन खान नपुग्ने गरिब घरपरिवार तराई (भावर) झर्थे । पछिल्लो समय भावर बसाइँ सर्नेमा मध्यम वर्गदेखि नेता, जनप्रतिनिधि र निजामती कर्मचारीको सङ्ख्या बढेको छ । पहाडका इजर (पाखोबारी) भने बाँझो हुँदै गएका छन् ।
बसाइँसराइका कारण पहाडी जिल्ला बैतडीको जनसङ्ख्या हरेक वर्ष ऋणात्मक हुँदै गएको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । २०७८ को जनगणना हुँदा छ हजार ४९८ जनसङ्ख्या घटेर दुई लाख ४४ हजार चार सयमा झरेको छ । तथ्याङ्क अनुसार पहाडी जिल्ला बैतडीको वार्षिक जनसङ्ख्याको ह्रास दर ऋणात्मक (–०.२५ प्रतिशत) छ ।
जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाबाट तराईका जिल्लामा बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । मानिस बसाइँ सरेर गएका कारण उक्त नगरपालिकाको ४, ५, ६, ८ र १० नम्बर वडाका सयौँ परिवारको ७५ हजार १०४ रोपनी जग्गा बाँझो छ । नगरको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार आव २०८०/८१ को एक वर्षको अवधिमा यहाँका ८५४ परिवार (करिब तीन हजार जनसङ्ख्या) बसाइँ सरी गएका छन् । पछिल्लो तीन वर्षयता दशरथचन्द नगरपालिकाको ४० हजार जनसङ्ख्या घटेर ३० हजारमा झरेको छ ।
सदरमुकामसमेत रहेको नगरपालिकामा बसोबास बढ्नुपर्ने भए पनि यहाँका बस्ती रित्तिएपछि दिउँसै सन्नाटा छाएको छ । ढोकामा ताल्चा लगाएर छाडिएका खाली घरवरिपरि सिस्नो र वनमाराको झाडी पलाएको छ । गाउँमा भेटिने दुई/चार जना पाका मानिस उदास देखिन्छन् । भारतीय सीमा क्षेत्र झुलाघाट नाकानजिकै भए पनि व्यापार व्यवसाय चलायमान हुन सकेको छैन । सदरमुकामका अधिकांश होटल बन्द छन् ।
पछिल्लो समय पहाडी बस्ती डरलाग्दो किसिमले रित्तिन थालेको जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक डा. सुरेन्द्र बमले बताउनुभयो । जनसङ्ख्या घट्दा त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा परेको र अङ्ग्रेजी, गणित र नेपाली विषयको पढाइ हुनेमा गणित विषय पढ्ने एक जना पनि विद्यार्थी भर्ना नभएको उहाँले बताउनुभयो ।
पाँच वर्षअघि छ सय विद्यार्थी अध्ययन गर्ने गरेकामा अहिले २४० जना मात्रै छन् । बसाइँसराइले विद्यार्थीको सङ्ख्या आधाभन्दा बढी घटेको हो । बस्ती नै बसाइँ सरेर भावर हिँडेपछि दशरथचन्द नगरपालिकाका छ वटा विद्यालय अर्को विद्यालयमा गाभिएका छन् ।
पाटन नगरपालिका–१०, सल्लेबासा माविनजिकैको पूरै बस्ती बसाइँसराइ गरेर जाँदा गाउँ सुनसान छ । बसाइँसराइ रोक्न नसक्दा विद्यार्थी सङ्ख्या घट्दै गएको सरस्वती मावि सल्लेबासाका प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो । राज्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारसँगै बस्ती व्यवस्थापनको योजना ल्याउन नसके केही वर्षमै पहाडको जनसङ्ख्या रित्तिएर राज्यको लगानी बालुमा पानी हुने उहाँले बताउनुभयो ।
ग्रामीण विकासमा विद्यावारिधि गर्नुभएका डा. केदारचन्द्र भट्टले नेपालमा विकास र बसाइँसराइसम्बन्धी स्पष्ट कानुन नभएकाले समस्या निम्तिएको बताउनुभयो । “राज्यको लगानी अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ,” डा. केदारचन्द्रले भन्नुभयो, “पहाडमा योजना निर्माण गर्ने र तराईमा घडेरी किन्ने प्रवृत्तिलाई हामी विकास भनिरहेका छौँ ।”
एक लाख मानिस रोक्ने योजना अलपत्र
देशका १० वटा नमुना सहरमध्ये बैतडीको पाटनमा एक लाख मानिस बसाल्ने योजना १० वर्षदेखि अलपत्र छ । नयाँ सहर आयोजनाको कार्यालय स्थापना भई सडक कालोपत्रे, बसपार्क निर्माण र मनोरञ्जन पार्क बने पनि बसपार्कमा बस र मनोरञ्जन पार्कमा मानिस भेटिँदैनन् ।
नयाँ सहर आयोजनाको कार्यालयले ल्यान्डपुलिङ (जग्गा व्यवस्थापन) को काम अघि बढ्न सकेको छैन । खेतीयोग्य जमिनमा घडेरी बनाउने भनेपछि स्थानीय सहमत नभएको नागरिक अगुवा वसन्त विष्टले बताउनुभयो ।
नयाँ सहर आयोजना पाटन बैतडीका इन्जिनियर रोहित भण्डारीले १० वर्षसम्म जग्गा विवादका कारण नयाँ सहर आयोजनाको काम अघि बढ्न नसकेको स्वीकार गर्नुभयो । उहाँले एक लाख मानिस रोक्ने लक्ष्य भए पनि सो अनुसार काम अघि बढ्न नसक्दा कार्यालयले अहिले सडक र खानेपानीका योजना निर्माण गरिरहेकोे जानकारी दिनुभयो ।
सरकारी पूर्वाधार प्रयोगविहीन
नयाँ सहरमै तीन वर्षअघि नेपाल सरकारले १८ करोड रुपियाँ खर्च गरेर निर्माण गरेको बैतडी विमानस्थल यात्रु नपाएर सुनसान बनेको छ ।
शिक्षातर्फ हरेक वर्ष निर्माण हुने करोडौँ रुपियाँका भवनसमेत प्रयोगविहीन अवस्थामा पुगेका छन् । विद्यार्थी सङ्ख्या नहुँदा अन्यत्र गाभिएका दशरथचन्दका छ वटा विद्यालयका भवन अहिले प्रयोगविहीन छन् । माध्यमिक विद्यालयका बहुउपयोगी भवनसमेत उपयोगमा आउन सकेका छैनन् ।
राज्यले बस्ती व्यवस्थापनको योजना नल्याई शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली र टेलिफोन जस्ता पूर्वाधारमा अर्बौं रुपियाँ खर्च गरे पनि परिणाम दिन नसकेको सरोकारवालाको भनाइ छ ।
राज्यले पूर्वाधारमा गरेको खर्च अनुसार संरचना उपभोग गर्ने मानिस नरहेको वीरेन्द्र मावि बैतडीका प्राचार्य कैलाश कनौजियाले बताउनुभयो । उहाँले राज्यले बसाइँसराइ रोक्न नसक्ने हो भने पहाडमा लगानी बन्द गर्नुपर्ने सुझाव दिनुभयो ।
राजनीतिक प्रतिनिधित्वमा असर
बसाइँसराइले बैतडीको जनसङ्ख्या घट्दा राजनीतिक प्रतिनिधित्वमा प्रत्यक्ष असर पु¥याएको छ । दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा अहिले जनसङ्ख्याका आधारमा एउटा मात्रै सङ्घीय निर्वाचन क्षेत्र कायम भएको छ ।
पञ्चायतकालमा यहाँ तीन वटा निर्वाचन क्षेत्र थिए । २०४७ पछि दुई निर्वाचन क्षेत्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनसङ्ख्याका आधारमा एक निर्वाचन क्षेत्र कायम भएको छ ।