• २४ असार २०८२, मङ्गलबार

सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काङ्ग्रेसबिच कुनै समस्या छैन: बर्तौला

blog

काठमाडौँ, असार २३ गते । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरू एमाले–काङ्ग्रेसबिच कुनै समस्या नरहेको बताउनुभएको छ ।

सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले दुई दलहरूबिच मजबुत समझदारी भएको दोहोर्याउँदै अन्य दलहरू सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरू पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताउनु भयो । संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरेर सत्तारुढ दलहरू अगाडि बढ्ने उहाँको दाबी छ । 

उहाँले भन्नुभयो, ‘सात बुँदे समझदारीप्रति दुई दलका बिचमा कुनै समस्या छैन । संसद्मा सबै कुराहरू आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने काँग्रेस र एमाले संसद्को १० वर्षे अवधिको समीक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभियो । यो निर्णयमा दुई दल पुग्ने कुरा नै पहिलो स्टेप हो । के विषयमा संशोधन गर्छौँ भन्ने कुरा त संसद्मा गणितीय हिसाबले आवश्यक छलफलका हिसाबले हुन्छ ।’

अनुकूल समयमै सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।