• १७ भदौ २०८१, सोमबार

रुसद्वारा किएभमा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

blog

तस्विरः एपी

किएभ, भदौ १७ गते । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । आज बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका बासिन्दाहरूलाई  आश्रय स्थलहरूमा पठाइएको छ । 

किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताउनुभयो । उहाँका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् । “हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ” आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गर्नुभयो । 

वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो । किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताउनुभयो । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताउनुभयो । 

रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षितगरी एकसय ५८ युक्रेनी ड्रोनहरूलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो । 

यो आक्रमण रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि सङ्घर्ष गरेको छ । क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ । रासस