• १८ भदौ २०८१, मङ्गलबार

भ्रष्टाचारको विरोधमा नग्न प्रदर्शनकारी तीन महिला पक्राउ

blog

कम्पाला, भदौ १७  गते । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यस वर्षको सुरुमा युवाको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसदतर्फ जाँने क्रममा पक्राउ गरी हिरासतमा लिइएको थियो ।

ती महिलाले महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारा लगाएका थिए ।

“युगान्डा गरिब होइन, ‘तिनीहरू’ले हाम्रो सम्पत्ति चोरिरहेका छन्,” एउटा प्लेकार्डमा लेखिएको थियो ।

एक वकिल इरोन किइजाले एएफपीलाई भन्नुभयो, “त्यहाँ तीनजना युवती भ्रष्टाचारको विरोध गरिरहेका थिए र उनीहरूलाई पक्राउ गरी अहिले कम्पाला सेन्ट्रल प्रहरी स्टेशनमा हिरासतमा राखिएको छ ।”

“उनीहरुलाई के अभियोग लगाइएको हो भन्ने खुल्न सकेको छैन,” उहाँले थप्नुभयो ।

युगान्डामा भ्रष्टाचार एक प्रमुख मुद्दा हो । अधिकारीहरू सार्वजनिक धेरै ठूला घोटालामा समावेश रहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा युगान्डा १८० देशमध्ये १४१ औँ स्थानमा छ ।

यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिका र बेलायतले कथित भ्रष्टाचारको आरोपमा यहाँको संसद्का सभामुख अनिता अमोङ र दुई पूर्व मन्त्रीसहित युगान्डाका धेरै अधिकारीमाथि प्रतिबन्ध लगाएका छन् । रासस, एएफपी