• १७ भदौ २०८१, सोमबार

जेलमा रहेका सुधारवादी इरानी नेताविरुद्ध नयाँ अभियोग

blog

पूर्वमन्त्री मुस्तफा ताजजादेह ।

तेहरान, भदौ १७ गते । जेलमा रहेका इरानी अधिकारकर्मी तथा पूर्वमन्त्री मुस्तफा ताजजादेहलाई राज्यविरुद्ध ‘प्रचारबाजी’ गरेको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

इरानको सुधारवादी खेमाका प्रमुख व्यक्ति ताजजादेह तेहरानको इभिन जेलमा जुलाई २०२२ देखि रहनुभएको छ । 

सन् १९९७ देखि २००५ सम्म पश्चिमा मुलुकसँगको सम्बन्ध सुधारमा जिम्मेवारी पाएका सुधारवादी नेता खतामीको नेतृत्वमा उपगृहमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

उहाँलाई सन् २०२२ को अक्टोबरमा ’राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

सुधारवादी दैनिक हम्मिहानले सोमबार ताजजादेहमाथि ‘राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ र ‘इस्लामिक गणतन्त्रविरुद्ध दुष्प्रचार गरेको’ नयाँ आरोप लगाइएको छ ।

सन् २००९ मा कट्टरपन्थी राष्ट्रपति महमुद अहमदीनेजादको पुनः निर्वाचनपछि अन्य सुधारवादी नेताहरूसँगै पक्राउ परेका उहाँले सात वर्ष जेलमा बिताइसक्नुभएको छ ।

आफ्ना नातेदारले सञ्चालन गरेका सामाजिक सञ्जाल च्यानलमार्फत राष्ट्रिय राजनीतिका विषयमा मुखर टिप्पणी गर्ने ताजजादेहले एक पत्रमा नयाँ मुद्दामा आफू अदालतमा उपस्थित नहुने बताउनुभएको छ ।

हम्मिहानका अनुसार यदि ताजजादेह दोषी ठहरिएमा उहाँलाई थप छ वर्षको जेल सजाय हुन सक्छ । हालैका वर्षहरूमा, उहाँले इरानी राजनीतिक प्रणालीमा लोकतान्त्रीकरणका लागि ‘संरचनात्मक परिवर्तनहरू’ लागू गर्न अधिकारीहरूलाई आह्वान गर्नुभएको थियो । रासस/एएफपी