• १७ भदौ २०८१, सोमबार

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण

blog

शिक्षा मन्त्रालय अन्तर्गत प्राविधिक शिक्षा निर्देशनालय र तत्पश्चात २०४५ सालको सिटिइभिटी ऐनबाट स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेका आङ्गिक, टेक्स अर्थात् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम, साझेदारी अर्थात् गैरनाफामूलक प्रतिष्ठान, ट्रस्ट तथा पालिकाहरूसँग साझेदारीमा सञ्चालित शिक्षालय र निजी प्राविधिक शिक्षालयमा विगतमा विद्यार्थीको भर्नाका लागि निकै प्रतिस्पर्धा हुने तथ्याङ्कले देखाउँछ तर केही समय यता खस्कँदै गएको विद्यार्थी भर्ना दर यो शैक्षिक सत्रमा आएर निकै लज्जास्पद भएको छ । अर्थात् देशैभरका प्राविधिक शिक्षालयमा विद्यार्थीको भर्ना दर अत्यन्त न्यून छ । कतिपय शिक्षालय विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन् । यो प्राविधिक शिक्षाका लागि निकै दुःखदायी कुरा हो । 

‘सिपयुक्त नेपाल तथा समृद्ध नेपाली, सिप हुन्छ हातमा रोजगारी साथमा’ जस्ता पवित्र नारा लिएर रणनीतिक रूपमा अगाडि बढिरहेको एक संस्था, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्कै प्रतिनिधि हुन्– यी चारैथरीका शिक्षलायहरू । देशको आर्थिक विकासका लागि आवश्यक धेरै तìवमध्ये एक बलियो र अपरिहार्य तत्व हो सिपयुक्त जनता । धेरैभन्दा धेरै नेपाली जनताको हातमा सिप प्रदान गर्ने उद्देश्यले पछिल्ला पाँच वर्षमा प्राविधिक शिक्षालयको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । एकातिर शिक्षालयको सङ्ख्या बढिरहँदा अर्कातिर विद्यार्थीको सङ्ख्या भने निरन्तर घटिरहेको छ । 

शैक्षिक सत्र २०७५/७६ मा ४२८ प्राविधिक शिक्षालयमा ६०३ कार्यक्रम सञ्चालन रहँदा २४,२८२ जना विद्यार्थी अध्ययन गर्दथे । भर्ना हुन र अध्ययन गर्न चाहने विद्यार्थीको ठुलो भिड नै लाग्ने गर्दथ्यो । शैक्षिक सत्र २०८०/८१ मा ७७० शिक्षामा १,३५१ कार्यक्रम सञ्चालनमा रहँदा ३६,१४८ जना विद्यार्थी भर्ना भएको तथ्याङ्क देखिन्छ । 

प्रतिशतको आँकडाले भन्ने हो भने प्राविधिक शिक्षालयहरू गत पाँच वर्षमा १८० प्रतिशतले वृद्धि भएका छन् । त्यस्तै २२ प्रतिशतले पढाइ हुने कार्यक्रमहरू र १४८ प्रतिशतले भर्ना हुने विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम २०५ प्रतिशतले, निजी स्तरमा सञ्चालित शिक्षालयहरू १४० प्रतिशतले साझेदारीमा सञ्चालित शिक्षालयहरू ११० प्रतिशतले र आङ्गिक शिक्षालयहरू १७१ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ । 

शैक्षिक सत्र २०८१/८२ मा भर्ना हुने क्रम बाँकी रहेको हुँदा पूर्ण आँकडा नआएको भए पनि फाराम भर्ने विद्यार्थीको सङ्ख्या र हालसम्म भर्ना हुने विद्यार्थीको सङ्ख्या हेर्दा प्राविधिक शिक्षातर्फ विद्यार्थीको रुचि यस वर्ष सबैभन्दा धेरे घटेको देखिन्छ । 

विद्यार्थी तथा अभिभावकहरूको रुचि वृद्धि गर्नुका साथै उपलब्धिमूलक प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालयमा हुनैपर्ने पाँच तìवहरू अध्ययन गर्नै पर्छ । सम्भवतः हामीले यी पाँच तत्वलाई विचार नगरीकन कार्यक्रम माग्यौँ, कार्यक्रम दियौँ र सोही अनुसार अध्ययन अध्यापन कार्य पनि अगाडि बढायौँ । यसको फलस्वरूप अध्ययनरत विद्यार्थीमा परिणाममुखी प्राविधिक शिक्षाका सपलता प्राप्त हुन सकेन र बिस्तारै अभिभावक तथा विद्यार्थीको बुझाइमा यो शिक्षा समय बढी लाग्ने र झन्झटिलो हुने रहेछ भन्ने मानसिकता बनेको जस्तो देखिन्छ । यसलाई समयमै उचित समाधान गर्न नसक्दा समस्या थप जटिल बन्दै जान्छ । 

कक्षाकोठा, पाठ्यक्रम, शिक्षक र विद्यार्थी भएर मात्र हुँदैन, यसको दायरा बढाउनु पर्छ भन्ने धारणा साधारण शिक्षामा त लागु भइसकेको अवस्थामा प्राविधिक शिक्षा कक्षा कोठामा प्रशिक्षकले सैद्धान्तिक ज्ञान दिने मात्र हो भन्ने बुझ्नु सरासर गलत हो । प्राविधिक शिक्षालय सञ्चालन गर्नुभन्दा अघि विद्यार्थीलाई न्याय गर्न सकिन्छ या सकिँदैन भन्ने बारेमा सञ्चालकले ध्यान दिनु पर्छ । पूर्वाधारबिना शिक्षालय सञ्चालन गर्नु भनेको विद्यार्थीको भविष्य नै अन्योल बनाउनु हो । 

प्राविधिक शिक्षालयमा सिप सिकाउनु पर्छ । यसका लागि शिक्षालयमा निम्न पाँच तìव अनिवार्य रूपमा हुनै पर्छ– भौतिक पूर्वाधार, भवन, कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, खेल मैदान, आदिको उचित व्यवस्थापन । शैक्षिक सामग्री, उपकरण, मेसिन, प्रविधिलगायत विषयको उपलब्धता । तालिम प्राप्त योग्य प्रशिक्षकहरू जसले विद्यार्थीलाई उद्यमशील बनाउनका लागि उत्प्रेरित गर्ने गर्छन् । शिक्षालय भित्र साथै शिक्षालय बाहिर प्रयोगात्मक अभ्यासका पूर्वाधार र ती स्थानमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गर्ने पहुँच को सुनिश्चितता । अध्ययनसँग सम्बन्धित बजार, उद्योग, कलकारखाना आदिको उपलब्धताका साथै विद्यार्थीलाई पढ्नेबित्तिकै कामको अवसर प्रदान गर्ने खालको संरचना निर्माण । 

हाम्रो ठाउँमा बाटो आयो, अब गाडी मर्मतसम्बन्धी अटोमोबाइल पढाइ सुरु गर्नु पर्छ । विद्यालयको बाँझो खेत छ, कृषि कार्यक्रम सुरु गर्नु पर्छ । नजिकै जङ्गलै जङ्गल छ फरेस्ट्री कार्यक्रम सुरु गर्नु पर्छ । यसो भन्नुभन्दा पहिले हामीले माथिका पाँच बुँदा आफ्नो मानसपटलमा राखी एकचोटि आफैँलाई मूल्याङ्कन गरौँ । के हामीसँग कक्षा कोठा छ ? शैक्षिक सामग्री, उपकरण, मेसिन, प्रविधि छ ? तालिम प्राप्त योग्य प्रशिक्षक छन् ? शिक्षालयभित्रका साथै शिक्षालयको नजिकै बाहिर प्रयोगात्मक अभ्यासका लागि आवश्यक पूर्वाधार छ ? अध्ययनपश्चात् रोजगारी तथा स्वरोजगारी हुनका लागि बजार, उद्योग, कलकारखाना, अस्पताल र उद्यमी हुनका लागि पुँजी र सम्भाव्यता अध्ययन छ ? यी प्रश्नको उत्तर सकारात्मक आउन गाह्रो हुने शिक्षालय स्थापना हुनुको परिणाम नै हो हाल प्राविधिक शिक्षालयमा विद्यार्थी घट्नु र प्राविधिक शिक्षाप्रतिको आमबुझाइ नकारात्मक हुँदै जानु ।

कुनै अपवाद जस्तो समुदाय बाहेक आमनेपाली जनमानसमा आफूले दुःख गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा पढाउने प्रवृत्ति नेपाली अभिभावकमा देखिन्छ । दिनभरि हलोकोदालो गरेर आएको बुवाले आफ्नो छोरालाई आज शिक्षालयमा के पढिस् भनेर सोध्नु स्वाभाविक हो ? प्रतिउत्तरमा आज हामीले धान रोप्यौँ नाङ्गै हातले, नाङ्गै खुट्टाले भनेको सुन्दा दिनभरि हलो कोदालो गरेको बुवाको मनमा के विचार आउँछ होला ! गम्बुट लगाएर ट्याक्टरले जोतेर मेसिनको सहयोगले आज हामीले कैयौँ बिघामा केही घण्टामै धान रोप्यौँ भने प्रतिउत्तर छोरोले बुवालाई दियो भने त्यसले अवश्य पनि बुवाको मनस्थितिमा सकारात्मक प्रभाव पार्दछ ।

म आफैँले गाडी किनेको छु । आफैँ गाडी चलाउँछु । मैले यसबाट राम्रै आम्दानी गरिरहेको छु । मेरा बच्चाले हजुरहरू जस्तै ड्रेस लगाएर १०–५ को जागिर पाउँदैन भने किन व्यर्थै पढाउनु ! पसलै खोलेर बस्नुपर्ने हो भने म यस्तो विषय पढाउँदिनँ भन्ने मानसिकता भएका अभिभावकलाई स्वरोजगारी तथा उद्यमशीलताको बारेमा जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी छ । मेरो बच्चा राष्ट्रको उत्पादकत्व वृद्धि गर्ने सेवामा छ भनेर अभिभावकले गर्व गर्ने र विद्यार्थी भाइबहिनी पनि लोक सेवा आयोग मुखी मात्र नभई उत्पादनमुखी व्यवसाय, उत्पादनमुखी रोजगार वा स्वरोजगारी वा उद्यमशील बन्नु पर्छ भन्ने भावना जागृत गराउन जरुरी छ ।

कामप्रतिको सम्मानलाई जोड्न सकेपछि मात्रै प्राविधिक शिक्षाप्रति विद्यार्थीको धारणा सकारात्मक हुँदै जान्छ । पढ्नु भनेको जागिर खानु मात्रै नभएर कुनै पनि पेसा र व्यवसायमा आधारित सिप हासिल गरेर सोही अनुसार जीवन निर्वाह गर्नु पनि हो । 

Author

अच्युतराज दाहाल