• १ जेठ २०८२, बिहिबार

नेपालगन्जको तापक्रम वर्षकै उच्च

blog

बिहीबार दिउँसो देखिएको रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको कोहलपुरस्थित सुनसान सडक । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, जेठ १ गते । देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४१ दशमलव ४ डिग्री मापन भएको हो ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मिना सीवाकोटीले बिहीबार नेपालगन्जको अधिकतम तामक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन भएको बताउनुभयो । उहाँका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो ।

विगत केही दिनदेखि नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास छ । तापक्रम दैनिकजसो वृद्धि भइरहेको छ । फिल्ड इन्चार्ज सीवाकोटीका अनुसार मङ्गलबार नेपालगन्जको अधिकतम ताफक्रम ४० डिग्री सेल्सियस रहेको थियो भने बुधबार ४० दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार यहाँको तापक्रममा वृद्धि हुँदै ४१ दशमलव ४ डिग्री सेल्सियस पुगेको हो ।

चर्को गर्मी त्यसमा पनि तातो हावाको लहरका कारण दैनिक ज्याला मजदूरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रुपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको हो । दिउँसोको तातो हावाका कारण मानिसहरु अत्यन्त जरुरी कामभन्दा घरबाट बाहिर निस्किने गरेका छैनन् । दिउँसोमा नेपालगन्जको सडक लगभग सुनसानजस्तो देखिन्छ ।

दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगन्जको बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा किनमेल गर्न निस्कने तथा विभिन्न चोक तथा पसलहरुमा काँक्रो, तर्भुज, खर्भुज, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरु सेवन गर्ने सर्वसाधारणको संख्या उल्लेख्य छ ।

दिउँसो १२ बजेदेखि बेलुका लगभग ६ बजेसम्मको समयमा नेपालगन्जमा अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावाको लहर चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाको लहरका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्दै गएको छ । नेपालगन्जमा चर्को गर्मी र तातो हावा तथा तातो लहरबाट जनजीवन अझै धेरै कष्टकर बन्ने देखिन्छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपायहरु अपनाउनु पर्ने चिकित्सक बताउँछन् ।

तातो हावा तातो लहरबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हलुका लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मीहरुसँग सम्पर्क गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

नेपालगन्ज मात्र नभएर यस आसपासका क्षेत्रहरु खजुरा, राँझा तथा कोहलपुरमा समेत अत्यधिक गर्मी बढेको छ । गत वर्ष नेपालगन्जको अत्यधिक तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । २०८१ जेठ १७ गते यहाँको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो ।