रामकृष्ण बोहरा
बागलुङ, असार २१ गते । दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको १०० औं बैठकले १० शय्याको आधारभूत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) स्वीकृत गरेसँगै अस्पताल निर्माणको बाटो खुलेको हो ।
गाउँपालिकावासीलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यसहित निर्माण गर्न लागिएको अस्पतालको डिपिआर कार्यपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । हाल हुग्दीशिर स्वास्थ्यचौकी रहेको स्थानमा १४ करोड ५० लाख रुपियाँको लागातमा अस्पताल निर्माण गर्नेगरी पालिकाले डिपिआर बनाएको गाउँपालिकाका प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो । अस्पतालको डिपीआर भेक्टर इन्जिनेरिङ सर्भिस प्रालिले बनाएको हो ।
बरेङ गाउँपालिका घरमा हुने सुत्केरी शून्य बनेको छ । पर्याप्त आर्थिक स्रोत नभएको बरेङ आमा स्वास्थ्यको क्षेत्रमा अब्बल बनेको हो ।
बरेङको सल्यान, सुखौरा र बाटाकाचौरमा बर्थिङ सेन्टर नहुँदा महिलामा समस्या हुँदा गुल्मीको शान्तिपुर र पाल्पा पुग्नुपर्ने बाध्यता थियो । अहिले बरेङका पाँचै वडामा बर्थिङ सेन्टर छन् । यसले महिलालाई गर्भ परीक्षणदेखि सुत्केरी हुन सहज भएको छ । ‘‘बरेङमा पालिकास्तरीय अस्पताल बनेपछि सामान्य स्वास्थ्य समस्या हुँदा पनि सदरमुकाम बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पताल पुग्नुपर्ने समस्याको अन्त्य हुनेछ’’ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो ।
बैठकले आर्थिक अवस्थाको कारण बस्ने घर समेत नभएका बरेङ गाउँपालिका– १ धुल्लुबास्कोट (साविक ७ नम्बर वडा) निवासी बलबहादुर सार्कीको घर निर्माण गर्ने समेत निर्णय गरेको छ । प्राकृतिक विपतका कारण घरवासविहीन हुनुभएका सार्कीको घर निर्माणका लागि गाउँपालिकाले एक लाख रुपियाँ उपलब्ध गराउने र अपुग भएमा जनश्रमदान गर्ने निर्णय भएको वडा अध्यक्ष नरसिंह पुनले बताउनुभयो ।
बैठकले विविध कारणवस ढिलाइ हुन गएका योजनाहरुको असार २३ गतेसम्म भुक्तानीका लागि म्याद थप तथा सम्पन्न योजनाको तत्काल अनुगमन गरी कार्यसम्पादनका आधारमा भुक्तानी दिने, सुशासन समिति कार्यसञ्चालन नियमावली तथा कर्मचारी अवकाशकोष कार्यविधि स्वीकृत र गाउँपालिकाका थप चार विद्यालय समायोजन तथा दरवन्दी मिलान गर्ने निर्णय गरेको प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो ।