• १ जेठ २०८२, बिहिबार

गण्डकीको अधिवेशन ११ गते बोलाउन सिफारिस

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १ गते। गण्डकी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले जेठ ११ गते २ बजेबाट सुरु हुने गरी बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

गण्डकी सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश प्रमुख कार्यालयमा अधिवेशन आह्वानका लागि सिफारिस भएको जानकारी दिनुभयो। “यो खास गरी बजेट अधिवेशन नै हो,” उहाँले भन्नुभयो, “सँगसँगै अहिले विषयगत समितिमा दफावार छलफल भइसकेका केही विधेयक पनि यो अधिवेशनबाट पारित गर्ने तयारी छ।”

गएको चैत चैत २६ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो। हिउँदे अधिवेशनबाट छ वटा विधेयक र प्रदेश सभा नियमावली पारित भएका थिए। हिउँदे अधिवेशनबाट विषयगत समितिमा पठाइएका १० विधेयकमाथि विभिन्न समितिमा छलफल भएको छ। 

अहिले विषयगत समितिमा गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन्। 

यस्तै, गण्डकी प्रदेशका दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिको अधिकार, खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशका घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पनि प्रदेश सभामा छन्।