हिन्दु वैदिक परम्परा अनुसार भाद्र कृष्ण औँसीलाई कुसेऔँसी बाबुको मुख हेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औँसी पनि हो । यस दिन बाबुको विशेष तरिकाले सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । आमापछिको द्वितीय गुरु पिता हुन् भनेर शास्त्रले वर्णन गरेको छ । शास्त्रले पितालाई (पितृ देवो भवः) भनी देवताको रूपमा विशेष चर्चा गरेको पाइन्छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।
वैदिक परम्परा अनुसार यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो । नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्म प्रारम्भ गरिँदैन । यस दिन काटिएको वा उखेलिएको कुशको मान्यता एक वर्षसम्म रहन्छ ।
कुश के हो ? यसको उत्पत्ति कसरी भयो ? कसरी घरमा ल्याइन्छ र के–के काममा प्रयोग गरिन्छ भन्ने जस्ता विषयमा सामान्य जानकारी हुनु राम्रो हो । कुश बाहिरी आँखाको हेराइमा खर (उर्लुक) वाशिरु जस्तै एक प्रकारको घाँस हो । तर आध्यात्मिक दृष्टिबाट यो पवित्रतम् वस्तु हो । यो तराई भागमा प्रशस्त पाइन्छ भने पहाडी भागमा कम मात्रामा पाइन्छ ।
वराह रूपी विष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञ वराहको रूपमा प्रार्थना गर्दा रौँलाई नै कुशको रूपमा मानेको विश्वास छ भने कतै विष्णुले समुन्द्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको पाइन्छ । यस्तै वृन्दाको श्राप पूरा गर्न भागवान विष्णुले कुशको रूप धारण गर्नुभएको पुराणमा पाइन्छ ।
अर्को प्रसङ्गमा बिरन्तिना सहोत्पन्न मन्त्र नुसार सृष्टिकर्ता ब्रह्माजीका साथसाथै कुशको पनि उत्पत्ति भयो भन्ने मान्यता छ । यसरी अलौकिक शक्तिद्वारा नै कुशको उत्पत्ति भएको हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्न सकिन्छ ।
कुश घरमा ल्याउने यस पवित्र दिनमा सबेरै उठी, स्नान आदि कर्म सम्पन्न गरी शुद्ध, सफा सेतो वस्त्र लगाई कुश भएको ठाउँमा गई’ॐ मन्त्र उच्चारण गर्दै कुशलाई स्पर्श गर्ने र सँगै लगेको जौ, तिल, चन्दनले पूजा गर्दै यस मन्त्रले प्रार्थना गर्ने चलन छ ।
बिरन्तिना सहोत्पन्न परमेष्ठिनी सर्जन ।
नुद सर्वाणि पापानि दर्भ ! स्वस्तिकरो भव ।
कुश उखेल्ने वा काट्ने प्रसङ्गमा फरक–फरक बुझाइ रहेको पाइन्छ । नित्यकर्म–पूजा प्रकाश भन्ने पुस्तकको कुशोत्पाटन–विधि (पेज ४३) मा कुश उखेल्ने विधिलाई स्पष्ट पारेको छ । पितृकार्यका लागि जरैसँगको कुश चाहिने हुँदा यसका लागि कुश उखेल्नु नै श्रेय हुन्छ । कसैले यस्तो कुशपितृ कार्यकै दिनमा उखेली प्रयोग गरेको पाइएको र धेरैले कुसेऔँसीका दिन जरैसहित उखेलेको कुश प्रयोग गर्ने गरेको पाइन्छ ।
कतै कतै फेदैदेखि काटिएको कुशलाई पनि प्रयोगमा ल्याएको पाइन्छ । श्राद्धको पिण्ड पूजा गर्ने क्रममा शुद्ध माटो माथि जरासहितको कुश, त्यसमाथि पातमा पिण्ड राखी पूजा गर्ने चलन छ । कुश पितृतिर्थ (बुढीऔँला र चोर औँलाको बिच) बाट उखेल्नु पर्छ । यसलाई व्यावहारिक उदाहरणका रूपमा मकैको बोट उखेल्दा झैँ गरी उखेल्ने भनेर बुझ्न सकिन्छ । यसरी उखेल्दा ‘हुँ फट्’ भन्ने मन्त्रउच्चारण गर्ने चलन पनि रहेको पाइन्छ ।
कुशलाई काटेर प्रयोग गर्ने सन्दर्भमा साह्रो माटो, जरैसहित उखेल्न खोज्दा पनि चुँडिने, उखेलिएको खण्डमा अर्को वर्ष कुश उत्पादन कम हुने, उखेल्दा हात काटिन सक्ने तथा एकै झड्कामा उखेल्नु आफैँमा कठिन काम भएर नै प्रार्थना गर्दै हतियारको प्रयोग
गरी काट्ने व्यावहारिक चलन पनि छ । यसरी केही कुश जरैदेखि उखेली, बाँकी हतियार लगाई काट्ने परम्परा व्यावहारिक देखिन्छ । कुश उखेल्न वा काट्न बस्दा पूर्व वा उत्तरतर्फ फर्कनु व्यावहारिक मानिन्छ ।
कुशबाट यज्ञ यज्ञादिलाई आवश्यक पर्ने वस्तुमा औँठी (पवित्र), ब्रह्मपवित्र, मोटक, तीनकुशे, ब्रह्मकुशादि बनाइन्छ । कर्मपात्र तथा कुशाशनका लागि प्रयोग गरिने कुशका टुक्राको लम्बाइ चार अँगुल हुनुपर्ने जानकारहरू बताउँछन् ।
कुश प्रयोगमा आउने धेरै कर्म छन्, तीमध्ये केहीलाई यसरी स्मरण गर्न सकिन्छ । कुनै ब्राह्मणलाई दान दिनु प¥यो तर उनको अनुपस्थिति भएमा उनको प्रतिनिधि पात्र स्वरूप कुशको ब्राह्मण बनाई त्यही दान दिएर ब्राह्मणका हातमा पु¥याउने चलन छ । त्यस्तै आफ्ना स्वर्गीय वृद्धवृद्धा बुवा आमा तीर्थमा जान इच्छा प्रकट गर्नुभएको तर जान नसकेको अवस्थामा उहाँहरूको स्मरण गर्दै कुश लिएर तीर्थमा स्नान ग¥यो भने उहाँहरूको तीर्थ स्नानको इच्छा पूरा हुन्छ भन्ने विश्वास रहीआएको छ ।
बाढी पहिरोमा वा खोलानालामा परी लास प्राप्त गर्न नसकिएका वा सय वर्षभन्दा बढी समयदेखि हराई सम्पर्कमा नआएका आफ्ना स्वजनको किरिया गर्नु परेमा तिनको मनुस्याकृति (पुत्ला) बनाई दाहसंस्कार गर्ने चलन छ । यस्तो पुत्लामा पनि कुशको प्रयोग गर्ने गरेको पाइन्छ ।
कुनै अनुष्ठानमा सरिक भई काम गर्नुपर्दा शिखाबन्धन गर्न मिल्ने टुप्पी भएन भने दाहिने कानमा कुश झुन्डाइ शिखाको काम लिने गरिन्छ । कपास, लुगाकपडा त्यागेका योगी तपस्वी कुशबाट नै जनै तथा अनन्त निर्माण गरी धारण गर्ने गरेको पाइन्छ । दाह्रीकपाल खौरनु पर्ने काममा यसरी खौरन अनुकूलन भएको खण्डमा कुशको पात डुलाई (कुशले काटी) खौरने कार्य पूरा हुन्छ भन्ने लोकोक्ति रहेको छ ।
यसरी हाम्रो संस्कृतिमा कुशको प्रयोग विभिन्न काममा गरिन्छ । कुश सत्वगुणको प्रतीक पनि मानिन्छ । यसको धारणबाट सतगुणको वृद्धि हुन्छ भन्ने विश्वास छ । कुशको औँठी लगाई कुश मिसिएको गुन्द्रीमा बसी जपतप आदि अनुष्ठान कार्यमा सरिक हुँदा ऊर्जा शक्ति घनिभूत भई अनुष्ठान कर्ताको वरिपरि नै रहने हुँदा ऊर्जाशील व्यक्तित्व निर्माणमा सहयोग पु¥याउँछ भन्ने शास्त्रीय मान्यता छ ।
कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको बास हुन्छ भन्ने विश्वास छ । कुशको अभावमा यसको विकल्पको रूपमा काँस, दुबो, जौ, सिरु, सुन, चाँदी, तामा पनि प्रयोगमा ल्याउने प्रचलन छ । लगनशील, तीष्ण, मेधावी विद्यार्थीको बुद्धिलाई कुशसँग तुलना गरी कुशाग्र बुद्धि भएको उपमा दिइन्छ । उसले सारतत्व फेला पार्ने क्षमता राखेको छ भन्ने बुझिन्छ ।
कुश सफा शुद्ध ठाउँमा उम्रेको र सर्लक्क परेको हुनु पर्छ । कुश घरमा ल्याइसकेपछि हल्का सुकाई जतनका साथ प्राकृतिकपन नजाने गरी संरक्षण गर्नु पर्छ । अझ किलो (सहजै पहुँच नहुने) ठाउँमा राख्नु पर्छ । पितृकार्यमा प्रयोग भएको जरासहितको कुश कहीँ कतै सहर्न (उम्रन) नपाओस् भनी अग्निमा जलाइदिनु पर्छ । भगवती नारायणीले ब्रह्माणी स्वरूप धारण गरी कुश मिश्रित जल छर्केर रक्षा गरेको कुरा सप्तसती चण्डीमा पाइन्छ ।
यसरी स्नान, जप, तप, होम आदि कार्यमा कुशको प्रयोग गरिने हुनाले हिन्दु वैदिक संस्कृतिमा अद्वितीय स्थान रहेको कुरा छर्लङ्ग हुन्छ । यसै दिन बुबालाई मिठा–मिठा परिकार खुवाई वस्त्र प्रदान गरी विभिन्न तवरले सम्मान तथा सत्कार गर्ने गरिन्छ । बुबाको स्वर्गवास भएका सन्तानले विभिन्न तीर्थ तथा मठमन्दिरमा पर्ने गई श्राद्ध तर्पण गरी पितृलाई स्मरण गर्ने काम पनि हुन्छ । हामी हाम्रा पितामाता तथा गुरुजनप्रति सधैँ भक्तिभाव त राख्छौ नै तर पनि यस्ता विशेष दिनमा विशेष प्रकारले स्मरण र श्रद्धाभाव प्रकट गर्ने परम्परागत प्रचलन छ ।