चाँदनी आचार्य
घोडाघोडी (कैलाली), भदौ १७ गते । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडका राजु चौधरी २१ वटा आइ–फोन (मोबाइल) सहित पक्राउ परेका छन् ।
सोमबार धनगढी उपमहानगपालिका वडानम्बर १३ स्थित धनगढी विमानस्थलबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता कविन्द्रसिंह बोहराले विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दैगर्दा पक्राउ गरिएको जनाउनुभयो ।
चौधरीले प्रवेश द्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका आइ–फोन प्रहरीले बरामद गरेको हो ।
करिब आठ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइ–फोन (मोबाइल) बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएका सामानसहित थप अनुसन्धानका लागि त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको जनाइएको छ ।