• १३ असोज २०८१, आइतबार

सिमसार संरक्षण उच्च प्राथमिकतामा

blog

भक्तिविलास पोखरेल

गाईघाट, फागुन १० गते । चुरे क्षेत्रको भूक्षयसँगै त्यस क्षेत्रमा रहेका कतिपय ताल, तलैया र पोखरीलगायतका दलदले भूमिमा अवस्थित सिमसारहरू धमाधम सुक्न थालेपछि राष्ट्रपति चुरे तथा तराई मधेश संरक्षण विकास समितिले सिमसार क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ ।

चुरे तथा सिमसार क्षेत्र संरक्षणका लागि उदयपुरको विभिन्न स्थानमा खोला किनारा स्तरीकरण गरी गल्छी पहिरो रोकथाम तथा खहरे नियन्त्रणसँग सम्बन्धित योजनाहरू सञ्चालन गरिएको छ । 

संरक्षित हुनुपर्ने महत्त्वपूर्ण क्षेत्रहरू अतिक्रमित भएर त्यहाँ रहेको जैविक विविधताको अस्तित्वसमेत सङ्कटमा पुगेको बेला पर्यायवरण संरक्षणका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । राष्ट्रपति चुरे तथा तराई मधेश संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ सलकपुरको सक्रियतामा संरक्षणको काम हुँदै आएको छ ।

सदावहार पानी जमिराख्ने सिमसार क्षेत्रको दलदले भूमि सुक्दै गएपछि त्यसमा निर्भर जैविक विविधताको अस्तित्व पनि सङ्कटमा परेकोले संरक्षणमा लागिएको साइट इन्चार्ज राजधन राईले बताउनुभयो ।

उहाँका अनुसार स्थानीयको लागत सहभागिता सम्पन्न हुनेगरी त्रियुगा नदी प्रणालीअन्तर्गत अघिल्लो आर्थिक वर्षमा ५७ लाख ६९ हजार रुपियाँको लागतमा त्रियुगा नगरपालिका–२ स्थित बबिया खोला किनारा स्तरीकरण गरिएको छ । यसैगरी ४८ लाख सात हजार रुपियाँको लागतमा वडा नं. ३ स्थित ठाडी, खोला, गल्छी, खहरे रोकथाम तथा तटबाँध निर्माणको काम सम्पन्न गरिएको छ । 

यसैगरी वडा नं. ४ को फर्सेट खोला नियन्त्रण तथा किनारा स्तरीकरण गर्न १९ लाख २३ हजार रुपियाँ र सोही वडाको रातु खोला सिमसार क्षेत्र व्यवस्थापन गरी पोखरी निर्माणका लागि १९ लाख ४५ हजार र त्रिनपा–३ मा १५ लाख ६३ हजार रुपियाँको लागतमा सिमसार क्षेत्र संरक्षण गरिएको छ । 

चौदण्डीगढी नगरपालिका–५ को सुन्दरपुर क्षेत्रमा २५ लाख, वडा नं. ९ मा ३० लाख, बेलका नगरपालिका–१ मा ४५ लाख र त्रिनपा–३ मा यो वर्ष थप १५ लाख ६३ हजार रुपियाँको लागतमा दर्जनको सङ्ख्यामा सिमसार संरक्षण गरी पोखरी निर्माण गरिएको साइट इन्चार्ज राईले बताउनुभयो । 

त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले नदी किनारका सिमसार क्षेत्र अतिक्रमणमा परेपछि कतिपय दुर्लभ चराको बास स्थान नै हराउँदै बताउनुभयो । मानव अतिक्रमणमा परेको चुरे विनाश रोकेर संरक्षणलाई तीव्र नबनाइएसम्म खतराबाट जोगिन कठिन हुने राष्ट्रपति चुरे तथा तराई मधेश संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ सलकपुरका प्रमुख उपसचिव डिलबहादुर पुर्जा पुनले बताउनुभयो । चुरे संरक्षणको मूल लक्ष्य स्पष्ट पार्दै उहाँले भन्नुभयो, “चुरे रहे पानी, पानी रहे हामी” भन्ने हो ।”