• १३ असोज २०८१, आइतबार

स्थान नतोक्दा बनेन प्रवेशद्वार

blog

नवराज कट्टेल

विराटनगर, फागुन १० गते  । भारतबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा निर्माण गरिने भनेको स्वागतद्वारको काम सुरु हुन सकेको छैन । निर्माण सम्पन्न गर्नका लागि तोकिएको समयभन्दा आठ महिना बढी बितिसक्दासमेत निर्माण नै सुरु हुन नसकेको हो । 

उक्त स्वागतद्वार निर्माणका लागि ह्याबीट्याट–आशिषदीप जेभीसँग सात करोड ७६ लाख ४८ हजार रुपियाँ लागत अनुमान गरी छ करोड २५ लाख २४ हजार रुपियाँमा सम्झौता भएको हो । प्रदेश सरकार सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले आह्वान गरेको बोलपत्र अनुसार २०७९ असार १४ गतेसम्म काम सम्पन्न हुनुपर्ने थियो । ठकेदारसँग २०७७ जेठ २७ गते सम्झौता भएको हो । 

प्रवेशद्वार निर्माण स्थलको यकिन नै नगरी हचुवाका भरमा गुरूयोजना बनाउने, ठेक्का लगाउने गर्दा निर्माणमा समस्या देखिएको छ । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले नेपाल–भारत दसगजा क्षेत्रमा प्रवेशद्वार शिलान्यास गर्ने कार्यक्रमसमेत स्थानका कारण रद्द भएको थियो । 

निर्माण स्थल दसगजा क्षेत्रमा परेपछि शिलान्यास रोकेर नयाँ स्थानमा सार्ने योजना राखिएको थियो । त्यसका लागि विराटनगर महानगरपालिकालाई निर्माण स्थल यकिन गरिदिन माग गरिएको थियो । महानगरले नयाँ स्थान यकिन गरेको नयाँ निर्माण स्थल भन्सार क्षेत्रमा परेपछि पुनः रोकिएको थियो । महानगरले भन्सार क्षेत्रमा यकिन गरिदिएको थियो । भन्सार कार्यालयले कुनै पनि संरचना निर्माण गर्न नमिल्ने बताएपछि प्रवेशद्वार निर्माणको काम अझै जटिल बनेको हो । 

प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङको संयुक्त लगानीमा प्रवेशद्वार निर्माण गर्ने भनिएको थियो । दसगजा र भन्सार क्षेत्रमा निर्माण गर्न नपाइने भएपछि अहिले सडक विभागसँग संरचना बनाउने स्थानको स्वीकृती माग गरिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख रुद्रनारायण मिश्रका अनुसार तीन स्थानमा सरिसकेको प्रवेशद्वार स्थल अब सडक विभागको स्वीकृतीमा अड्किएको छ । 

आकाशे पुलसहितको स्वागतद्वार निर्माणको योजना थियो । रानी क्षेत्रमा बन्न नसकेपछि त्यसदेखि उत्तरतर्फ चार किलोमिटर दुरीको आईसीपी प्रवेश गर्ने स्थानमा प्रवेशद्वार र महावीर चौकमा आकाशे पुल निर्माण गर्ने योजना थियो । आकाशे पुल पनि निर्माण गर्न विराटनगरवासीले दिएनन् भने आकाशे पुल निर्माणका लागि अझै स्थान यकिन भएको छैन ।