• १३ साउन २०८१, आइतबार

न्यौपाने र पन्त सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । लघुकथा समाज नेपालले साहित्यकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने) र कल्याण पन्तलाई सम्मानित गरेको छ । समाजद्वारा आइतबार आयोजित कार्यक्रममा ‘सावित्री–केशर कथा सम्मान–२०७९’ कथाकार न्यौपानेलाई प्रदान गरिएको हो । त्यसैगरी समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको हो । उहाँहरूलाई जनही नगद राशि २१ हजार रुपियाँसहित सो सम्मानबाट सम्मानित गरिएको हो । प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र प्रदान गर्दै दुवै सर्जकलाई सम्मानित गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँहरूलाई पुरस्कार संस्थापकहरू हरि थापा र भैरवी थापाले प्रदान गर्नुभएको थियो ।

समाजका अध्यक्ष गोपाल अश्कको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित साहित्यकार कथाकार न्यौपाने र पन्तले आजको सम्मानबाट आफूहरूलाई खुसी लाग्नुका साथै आगामी दिनमा थप साहित्य रचनाका लागि हौसला प्रदान गरेको बताउनुभयो ।