• १३ असोज २०८१, आइतबार

राजनीतिमा ठेकेदारी प्रथा हाबी भयो : नेतृ शाक्य

blog

नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ७ गते । नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । त्यही प्रवृत्तिविरुद्ध एमालेले ‘मिसन ग्रास रुट’ अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

अभियानको क्रममा आइतबार झापाको दमकमा आउनुभएकी उपाध्यक्ष शाक्यले एमाले पार्टीभित्र पनि ठेकेदारी प्रथा रहेको प्रष्ट पार्नुभयो । आफुअनुकुल पार्टी चलाउन आफै धेरैको लेबी तिरिदिने र आफुविरुद्ध बोल्न नसक्ने बनाएर कार्यकर्तालाई दबाएर राख्ने काम अब हुनु हुँदैन, उहाँले भन्नुभयो ।

वडादेखि माथिल्लो तहसम्म नै व्यवहारिक र संरचनागत सुधार आवश्यक रहेको उहाँको भनाइ छ । हामी आन्दोलनको जगबाट सरकारमा त पुग्यौँ, तर जनताको विषयमा अपेक्षाकृत काम गर्न सकेनौ, उहाँले भन्नुभयो । सुखी नेपाली, संवृद्ध नेपालको सपना साकार पार्न अब तलदेखि माथिसम्म सुधार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

राजनीतिमा इमान्दारीता हराउँदै गएको भन्दै नेतृ शाक्यले अब इमान्दार कार्यकर्ता उत्पादन गर्नुपर्ने औँल्याउनुभयो । हामी कार्यकर्ता इमान्दार भयो भने सङ्गठनभित्र आफै इमान्दारिता कायम हुँदै जान्छ, उहाँले भन्नुभयो । जनताका पक्षमा वकालत गर्ने सङ्गठनको रूपमा पार्टीको कमिटी र जनबर्गीय सङ्गठनलाई स्थापित गर्नुपर्छ उहाँको भनाइ छ ।