काठमाडौँ, फागुन ६ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताउनुभएको छ । यसमध्ये हिन्दु धर्मावलम्बीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्त्वपूर्ण र पवित्र पर्व भएको उहाँले उल्लेख गर्नुभएको छ ।
सभापति देउवाले यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताउँदै महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।