• १३ साउन २०८१, आइतबार

महिलालाई पन्चैबाजा बजाउने तालिम

blog

दोलखा समाचारदाता

चरीकोट, फागुन ५ गते । दोलखाको भीमेश्वर नगरपालिकाले महिलाका लागि पन्चैबाजा बजाउन तालिम सुरु गरेको छ । महिलामा पन्चैबाजा बजाउने सीप हस्तान्तरण, संरक्षण र प्रवद्र्धनसँगै महिलाको आयआर्जनमा सघाउन वडाले तालिम सुरु गरेको वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक, मौलिक, सांस्कृतिक र सामाजिक महत्त्वको पन्चैबाजा विस्थापन हुने खतरा बढेकाले संरक्षणमा सबै जुट्नु्पर्ने खाँचो छ ।” 

आधुनिक बाजाको प्रभाव र युवा पुस्ताको बेवास्ताले अचेल पन्चैबाजा बज्न छाड्दा सामाजिक, सांस्कृतिक उत्सवको रौनकता घट्नुका साथै संस्कृतिसमेत लोपोन्मुख बनेको छ । सरकारी क्षैत्रबाटै पन्चैबाजा संरक्षण र संवद्र्धन गर्नुपर्ने आजको आवश्यकता हो । पन्चैबाजाको संरक्षणसँगै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण हुने वडावासीको सल्लाह सुझावअनुसार तालिम आयोजना गरिएको हो । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “वडाका महिलालाई नमुना पन्चैबाजा टोलीका रूपमा विकास गर्न वडाले सकेको सहयोग गर्नेछ ।” तालिमबाट प्राप्त कला, सीप प्रयोग गरी संस्कृति संरक्षणसँगै आर्थिक रूपान्तरणको अभियानमा सहभागी हुन तालिमका सहभागीलाई उहाँले आग्रह गर्नुभयो ।  

गाउँका युवा पलायन हुँदै गर्दा पन्चैबाजा बजाउने सीप हस्तान्तरण हुन नसकेका बेला महिलालाई तालिम प्रदान गरी वडाले सकारात्मक कार्य सुरु गरेको स्थानीय अगुवा महिला तारा नेपालीले बताउनुभयो । पुरुष मात्र होइन, महिला पनि हरेक काममा सक्षम र योग्य हुन्छन् भन्ने सन्देश दिन तालिमबाट सिकेको सीप व्यवहारमा उतारेर प्रमाणित गर्ने दाबी उहाँले गर्नुभयो । 

आफ्नै घरआँगनमा तालिम लिन पाएपछि स्थानीय महिला उत्साहित भएका छन् । तालिममा २० महिलाको सहभागिता छ । स्थानीय भुवन नेपाली र रामकुमार नेपालीले सहनाई, कृष्णबहादुर नेपालीले ढोलक, ट्याम्को, भक्तबहादुर नेपालीले नरसिङ्गा, लोकबहादुर नेपालीले दमाहा र कर्नाल बजाउन प्रशिक्षण दिनुहुने भएको छ ।