विश्वका अधिकांश मुलुकमा औद्योगिकीकरणको ठूलो महत्व छ । यसले रोजगारी सिर्जना गरी वैदेशिक व्यापारमा सन्तुलन कायम गर्छ । औद्योगिकीकरणमा वैदेशिक लगानीको समेत निकै महत्वपूर्ण स्थान रहेको पाइन्छ । द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टको पछिल्लो तथ्याङ्कका अनुसार विश्वका ठूला औद्योगिक राष्ट्रमध्येको एक बेलायतमा सन् २०२२ मा मात्र २४.२ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको थियो । यसै तथ्याङ्कले समेत औद्योगिक तथा विकसित मुलुकमा पनि वैदेशिक लगानीको भूमिका स्पष्ट पार्छ । विश्वका विकसित मुलुकमा समेत वैदेशिक लगानीलाई महत्वपूर्ण मानिने सन्दर्भमा हाम्राजस्ता विकासशील मुलुकमा वैदेशिक लगानीको महत्व अझै उपयोगी भएको स्पष्टै छ । त्यसो त नेपालमा पनि विगतदेखि नै प्रत्यक्ष वैदेशिक लगानीमा विभिन्न उद्योगधन्दा तथा परियोजना सञ्चालनमा छन् । साथै वैदेशिक लगानीको सिलसिलामा निरन्तरतासमेत छ तर त्यसमा बढ्दो उत्साह भने छैन ।
नेपालमा पछिल्लो समयमा भने वैदेशिक लगानी प्रवाहका सम्बन्धमा चर्चा गरिँदा खासै सकारात्मक तवरले लिन सकिने अवस्था पाइँदैन । विशेषतः रुस युक्रेन युद्धका कारण विश्वभरि नै आर्थिक सङ्कट तथा लगानीको वातावरणमा प्रतिकूल प्रभाव परेकै फलस्वरूप वैदेशिक लगानी तथा प्रतिबद्धतामा कमी आइरहेको यथार्थ हो । बेलायतकै तथ्याङ्कलाई केलाउँदा पनि सन् २०२१ मा वैदेशिक लगानी २९.४ अर्ब डलर रहेकोमा सन् २०२२ मा २४.२ अर्ब डलर रहेबाट वैदेशिक लगानीमा आएको सङ्कुचनको अवस्थालाई बुझ्न सकिन्छ । नेपालमा पनि चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म १८ अर्ब ६३ करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता गत वर्षको यही अवधिमा ३१ अर्ब १४ करोड रुपियाँ बराबरको थियो । यस तथ्याङ्कबाट हेर्दा नेपालमा एक वर्षकै अवधिमा झन्डै आधाले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको देखिन्छ ।
विश्व परिस्थिति तथा आर्थिक सङ्कटका कारण यो समय पक्कै पनि कुनै मुलुक वा क्षेत्रका निम्ति वैदेशिक लगानी प्राप्त गर्न सहज छैन । यो वास्तविकता हो तथापि एक वर्षमा नै ४० प्रतिशतले लगानी प्रतिबद्धतामा कमी आउनु नेपालका निम्ति पक्कै पनि हितकर विषय मान्न सकिँदैन । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धताको ३० प्रतिशत रकम मात्र वास्तविक लगानी हुने गरेको देखिन्छ । यस सन्दर्भमा पाँच छ अर्ब रुपियाँको वास्तविक वैदेशिक लगानीको आँकडालाई खासै उत्साहजनक मान्न सकिने अवस्था पनि होइन । यो अवस्था कसरी आइप¥यो भन्ने सन्दर्भमा सरकारलगायत सम्बद्ध निकायले गहन चिन्तन गर्नुपर्ने स्थिति आएको छ । विश्व आर्थिक सङ्कटलगायत हाम्रा पनि विभिन्न नीति नियम, कार्यशैलीलगायतका विषयका कमीकमजोरीले वैदेशिक लगानी आउन नसकेको बारेमा पनि गृहकार्य हुनु जरुरी देखिएको छ ।
नेपालमा वैदेशिक लगानीका निम्ति अनेक क्षेत्र छन् । लगानी गरी प्रतिफल सुनिश्चित गर्न सकिन्छ । खास गरी सेवामूलक क्षेत्र पर्यटनका साथै कृषि, सूचना प्रविधि जलस्रोतलगायतका थुप्रै क्षेत्र विद्यमान छन् । लगानीका क्षेत्र सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा उचित प्रचारप्रसार हुन सकेको छैन । देशभित्रको प्रक्रियागत झन्झटसमेत उस्तै छ । वैदेशिक लगानीकर्ता आकर्षित नभएका बारेमा सम्बद्ध निकायबाट अध्ययन अनुसन्धान हुनु महत्वपूर्ण हुनेछ । यसका अतिरिक्त व्यावसायिक भिसामा कडाइका कारण वैदेशिक लगानीको प्रतिबद्धतामा कमी आएको आधिकारिक भनाइतर्फ पनि सरकारको ध्यानाकर्षण हुनु वाञ्छनीय छ ।
व्यावसायिक प्रतिबद्धता जनाउने व्यवसायीलाई सहज एवं सरल तवरले भिसा उपलब्ध गराइनु पनि वैदेशिक लगानी आकर्षित गर्ने एक उपाय हुन सक्छ । त्यसो त सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब एक हजार अन्तर्राष्ट्रिय व्यवसायीलाई भिसाको सिफारिस गरेर वातावरण अनुकूलको प्रयास गरिरहेको मान्न सकिए पनि यसमा अझै थप प्रयास हुनु जरुरी छ । मुलुकको विकास तथा औद्योगिकीकरणमा प्रत्यक्ष वैदेशिक लगानीको महत्वपूर्ण भूमिका हुने सन्दर्भमा उद्योग विभाग तथा लगानी बोर्डजस्ता निकायले यस्तो लगानीका सम्बन्धमा विदेशी व्यवसायीलाई उपयुक्त तवरले जानकारी तथा परामर्श उपलब्ध आवश्यक हुन्छ । यसैगरी व्यवसायीलाई सहज हुने तरिकाले सरकारले नीति, नियम लागू गर्नु पनि महत्वपूर्ण हुन आउँछ ।