“आज हजुरबाको बर्थ डे भव्यसँग मनाउनु पर्छ” एकाबिहानै नातिले हजुरबाको दारी मुसार्दै भने, “म बुढो मान्छेको बर्थ डे किन मनाउनु पर्यो र बाबु ?” हजुरबाले नाति सुन्दरलाई काखमा लिँदै भन्नुभयो ।
“अँ, हुन्छ नि त्यसो भनेर ? हाम्रा हजुरबाको बर्थ डे रमाइलो गरेर मनाउने हो हामी त,” नातिनी रमाले थपिन् ।
सुन्दर र रमा भएर बाबालाई समेत पिरोले । “छोराछोरीले रहर गरेका छन्, पूरा गर्दिनू न त बा” छोरा कालिदासले भनेपछि हजुरबाले पनि स्वीकार गर्नुभयो । केटाकेटीको आग्रह पूरा गर्दै बाबाले बर्थ डे केकलगायतका सामान किन्नका लागि पैसा दिनुभयो ।
केटाकेटीले अरू साथी पनि बटुले । सुन्दरको साथी महेशले त हजुरबालाई सोली जस्तो चुच्चे टोपी नै लगाइदिए । रमाकी साथी कमलाले हजुरबाका गालामा सेतो क्रिम दलिदिइन् ।
“ह्या के के गर्छन् यी केटाकेटी पनि !” हजुरबाले झ्याउ माने जस्तो गर्नुभयो ।
“हेर्नू त सुन्दरका ड्याडी, केक त नाङ्ला जत्रै पो ल्याएछन् त है यी भुराभुरीले,” कृष्णकलाले कालिदाससँग आश्चर्य मान्दै बोली ।
हेर्दाहेर्दै केकमाथि केटाकेटीले केही मैनबत्ती गाडे र सलाई कोरेर सबै मैनबत्ती बाले । अनि हजुरबालाई ‘फु’ गरेर निभाउन कर गरे । “के के भाउँतो लाउँछन् इँदोरु पनि,” हजुरबाले मन नमानी नमानी मैनबत्ती निभाउनुभयो ।
“ह्याप्पी बर्थ डे हजुरबा !” केटाकेटीले परर्र ताली पिटे । केटाकेटीमध्ये कसैले झिर्रिरे पारेर पार्टी पर्पर्स फुटाए, कसैले स्प्रे छर्किएर उधुम मच्चाए । हजुरबालाई अचम्म लागिरह्यो ।
“यत्तिका गर्दा पनि हजुरबा त केही वास्तै गर्नुहुन्न है ?” रमाले दाइसँग अलिअलि लोभी भाषामा बोलिन् ।
उता हजुरबाले हजुरआमालाई बोलाएर भने, “जाऊ त बुढी यसो बारीतिर गएर फूलसुल टिप्दै गर त !” यति भनेर हजुरबा माथिल्लो तलाको पूजाकोठामा उक्लिनुभयो । हजुरआमा आइसकेपछि सबै केटाकेटीलाई माथि आउन अह्राउनुभयो । नातिनातिनी र उनीहरूका साथी माथि आउनासाथ हजुरबाले दियो बाल्दै सबैलाई नमस्ते गर्न लगाउनुभयो । दियो बालिसकेपछि सबै केटाकेटीलाई बोलाएर टीका लगाइदिएर खाममा दक्षिणा दिनुभयो । उहाँले “केक काट्ने संस्कृति हाम्रो होइन, दियो बाल्ने संस्कृति हो,” भन्नुभयो । यतिखेर बल्ल हजुरबा खुसी देखिनुभयो । हजुरबा खुसी भएको देखेर केटाकेटी झन् खुसी भए ।