• १३ असोज २०८१, आइतबार

मन्त्री निवासको काम ८७ प्रतिशत सम्पन्न, आगामी वैशाखमा सम्पन्न हुने

blog

ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासको स्केच । स्केच : गोरखापत्र

काठमाडौं, फागुन ३ गते । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासको काम ८७ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख एवं सङ्घीय मन्त्रीका लागि आवासको रुपमा निर्माण गरिएको भवनको हालसम्म ८७ प्रतिशत निर्माण सम्पन्न भएको विशेष भवन निर्माण आयोजना प्रमुख मचाकाजी महर्जनले बताउनुभयो । 

उहाँका अनुसार निर्माण कार्य द्रुतगतिमा अघि बढेका भएका कारण अबको तीन महिनाभित्र निर्माणकार्य सम्पन्न गरी हस्तान्तरण गरिनेछ । आगामी वैशाखदेखि मन्त्रीहरुलाई नयाँ मन्त्री निवासमा बस्ने व्यवस्थासहित काम अघि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भवन निर्माणको काम द्रुतगतिमा अघि बढेको छ । आगामी तीन महिनामा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौँ । आगामी वैशाखमा मन्त्रीहरु नयाँ भवनमा बस्न पाउनुहुनेछ ।” 

उहाँका अनुसार अहिले भवनमा टायल, बत्ती तथा एसी राख्ने काम जारी छ । भवनको आन्तरिक बाटोमा ढुङ्गा छापेर कालोपत्रे गर्न मात्र बाँकी रहेको उहाँको भनाइ छ । बाँकी १३ प्रतिशत काम पनि समयमै सक्ने योजनामा लागेको उहाँले बताउनुभयो । आयोजनाको अन्तिम मिति आगामी वैशाख २६ गतेसम्म छ । 

२०७६ कात्तिक २७ गते ठेक्का सम्झौता भएको उक्त भवन दुई वर्षमा सक्ने गरि सम्झौता भएको थियो । तर निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै समयमा सम्पन्न गरेको थिएन । सरकारले कोरोनाका कारण असर परेका आयोजनालाई छ महिना समय थपिदिएको थियो । यो आयोजनाको पनि सोही प्रक्रियाबमोजिम समय थप गरिएको थियो । उक्त समयमा पनि काम सम्पन्न नभएपछि पुनः एक बर्ष म्याद थप गरिएको थियो । 

दोस्रो पटक थपिएको म्याद आगामी बवैशाखमा सकिने भएपछि काम पनि द्रुतगतिमा अघि बढेको छ । पुल्चोकमा रहेको मन्त्री निवास साँघुरो भएको र उच्च दस्थ व्यक्ति आउँदा आवासीय सुविधा नभएको भन्दै भैंसेपाटीमा अत्याधुनिक सुविधासहितको भवन निर्माण गर्न लागिएको हो । 

९२ रोपनीमा बन्दै गरेको यो भवनको लागत एक अर्ब तीन करोड ४६ लाख रुपियाँ छ । भवन निर्माणको जिम्मा सिको हनुमान जेभीले पाएको छ । कस्तो हुनेछ मन्त्री निवास ?

आवासका लागि छुट्याइएको मन्त्री निवासको ९२ रोपनी क्षोत्रफलमा २७ वटा ब्लक रहनेछन् । 

जहाँ हरियाली पर्यावरणका लागि ३७ रोपनी जग्गा छुुट्याइएको छ । २१ रोपनी क्षेत्रफल आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनी जग्गामा जिमखानासहितको हेल्थ क्लब पनि रहनेछ । आवासभित्र तीन तहको सुरक्षा व्यवस्था रहनेछ । सुरक्षा व्यवस्थाका लागि तीन वटा भवन निर्माण हुनेछन् । करिब एक सय सवारी अट्ने पार्किङकाे व्यवस्था पनि छ ।

मन्त्री क्याटरको भवन दुई तलाको बन्नेछ । मन्त्री निवाससँगै राष्ट्रिय सभाका अध्यक्षका लागि एक भवन, उपाध्यक्षका लागि एक भवन, प्रतिनिधिसभा उपाध्यक्षका लागि एक भवन र २४ वटा मन्त्री भवन निर्माण हुनेछ ।



Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।