• १४ पुस २०८१, आइतबार

निर्वाण (कथा)

blog


विगत पाँच वर्षदेखि म सन्ध्याको खोजीमा थिएँ । म उसको हत्या गर्न चाहन्थेँ । 

मेरो जीवन त्यस्तो प्रतिकूल यात्रा थियो जसको अगाडि केवल भीर थियो । पछाडि फर्कन मेरो स्वभावले दिँदैनथ्यो । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ । त्यो मेरो जन्मसँगै अभिन्न रूपमा टाँसिएर आएको जातीय पीडा थियो । जातकै कारण म लगभग एक दलित युवकको नियति भोगिरहेको थिएँ । गरिबी त्यसको अभिन्न अङ्ग थियो । प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा त्यसले चुनौती दिइरहेको थियो र मलाई पराजित गरिरहेको थियो । 

सन्ध्या हाम्रो सनातन समाजमा उँचो जातकी थिई र प्रचलित समाजशास्त्रलाई चुनौती दिँदै मसँग प्रेम गरिरहेकी थिई । सपनामा अक्सर म आफूलाई नाङ्गो पाउँथेँ । लुगा त, सपनामै हो, हैसियतले भ्याएसम्म पर्याप्त लगाउँथेँ, नाङ्गिनुपर्ने डरले । तर कसले कसरी किन हो मेरा सबै लुगा अपहरण गरिदिएका हुन्थे । त्यसले गर्दा म बिलकुल नाङ्गो, लज्जित, कमजोर, बेसहारा र आतङ्कित हुन्थेँ । मलाई नाङ्गो देखेर मानिसहरू ढुङ्गाले हिर्काउँदै लखेटिरहेका हुन्थे । त्यो हुलमा सन्ध्या पनि हुन्थी । म भने सास न बाससित भागिरहेको हुन्थेँ । आतङ्कले प्राणै छुट्लाझैँ हुन्थ्यो । जब बिउँझन्थेँ, त्यसको कैयन् गुणा बढी आतङ्कित हुन्थेँ । नग्नता मलाई मेरै दरिद्रताको प्रतीकझैँ लाग्थ्यो । 

के मेरो जिन्दगी कहालीलाग्दो सपनाकै छायाँ थियो ?


यस्तैमा सहरको कुख्यात गुन्डाले सन्ध्यालाई अपहरण गरेको थियो । मलाई आफू उभिएको जमिन भासिएको अनुभूति भयो । म अर्को भीषण उत्पीडन र अपमानको तलाउमा खसेको थिएँ किनभने गुण्डाको विरुद्ध जाहेरी लिन प्रहरीले अस्वीकार ग¥यो । प्रतिशोधको भावनाले म कतिसम्म उम्लिएँ भने मेरो जीवनको एउटै लक्ष्य अब गुण्डाको हत्या गर्नु रह्यो । एक निहत्था युवकले सहरकै खतरनाक गुन्डाको हत्या गर्नु सजिलो थिएन । तथापि सेक्सपियरको अभागी पात्र ह्याम्लेटजस्तै आफ्नै बर्बादी निम्त्याउन अब म तम्तयार थिएँ ।

म निकै सावधानीसाथ कम्मरमा आठ इन्चको छुरी भिरेर त्यसको हत्या गर्न हिँडे । राति त्यो एक्लै हिँड्ने गल्लीमा ढुकेर बसेँ । यो, कस्तो पत्याइनसक्नु दृश्य थियो ! सन्ध्या उसैसँग चुपचाप हिँडिरहेकी थिई । मलाई आफ्नै आँखामाथि विश्वास भएन । के यो अर्को दुःस्वप्न थियो ? (सन्ध्याको अपहरण अहिलेसम्म म दुस्वप्न ठान्ने गर्छु र बारम्बार त्यो दुःस्वप्न मात्र होस् भन्ने कामना गर्छु ।) मैले आँखा मिचेर हेरेँ, अहँ त्यो सपना थिएन । आफैँलाई चिमोटेँ, हकारेँ, त्यो कटु विपना नै थियो । 

मेरो उद्देश्य गुण्डाको हत्या गर्नु थियो । म दृढ भएँ । मौका ढुकिरहेको चितुवाले जस्तै त्यसमाथि आक्रमण गरेँ । सन्ध्या आत्तिएर मृगजस्तै उछिट्टिई । दृश्य यस्तो प्रतीत हुन्थ्यो, गुन्डा अब सज्जन भएको छ, मचाहिँ गुन्डा भएको छु । म आक्रमण गरिरहेको थिएँ, ऊ प्रतिरक्षा मात्र गरिरहेको थियो । ऊ मल्लयुद्धका अनेक जुक्ति जान्दथ्यो । एउटै कुरा, त्यसले प्रतिरक्षा मात्र ग-यो, नत्र त्यतिन्जेल मलाई सिध्याउन पक्कै ऊ सफल हुन्थ्यो । 

सन्ध्याका लागि म ज्यान बाजी लगाइरहेको थिएँ तर ऊ मैमाथि थुकिरहेकी थिई । के यो अपहरण प्रायोजित हल्ला मात्र थियो ? कि उसलाई अब प्रेमीभन्दा अपहरणकारी नै प्रिय भयो ? उसले कुनै जवाफ दिइन । मलाई लाग्यो, सन्ध्याले मेरो जातकै कारण मलाई धोका दिएकी थिई । मेरो प्रतिशोध एकाएक गुण्डाबाट सन्ध्यातर्फ स¥यो । प्रस्ट थियो, यो मेरो जातीय अस्मितामाथि अर्को जब्बर असहिष्णु प्रहार थियो । मैले तत्काल सन्ध्यामाथि आक्रमण गरेँ । गुण्डा र मेरो भूमिका अघिल्लो दृश्यबाटै फेरिएको थियो । त्यसले मेरो पाखुरा परक्क बटारेर मर्काइदियो र सन्ध्यालाई सुरक्षा दियो । त्यसपछि प्रहरी बोलाएर मलाई पक्राइदियो । 


म दुई वर्ष थुनामा परेँ । छुट्दा जेलभित्र मैले एक सज्जन व्यक्तिको छाप छाडेर आएको थिएँ । तर दुनियाँलाई के थाहा, मेरो जीवनको एक मात्र उद्देश्य सन्ध्या वज्राचार्यको हत्या गर्नु थियो ! सन्ध्या कहाँ थिई, के गर्थी, मलाई केही थाहा थिएन । कसैले सूचना पनि दिँदैनथ्यो, दुनियाँलाई थाहा थियो, त्यसमाथि आक्रमणकै कारण म थुनामा परेको थिएँ । म उसलाई खोज्दैखोज्दै निकै भौतारिएँँ ।

दुर्भाग्य मेरो जीवनमा शरीरकै अभिन्न अङ्गजस्तो थियो । म तीन वर्षको छँदा आमाको निधन भएको थियो । आमाको धमिलो विम्ब अझै पनि मनमा छ । मेरो किशोर वयमै दीर्घ रोगी बा परमधाम भए । म दिदीको ममतामा हुर्किएँ । तिनले धेरै दुःख गरेर मलाई पढाइन् । दुर्भाग्य, एक दिन म थुनामा परेँ । उनी असाध्यै दुःखी भइन् । भाइलाई ठूलो मान्छे बनाउने उनको सपना यो अन्यायमूलक राज्यको पाङ्ग्रामुनि धूलिसात भएको थियो । 

यही तोडमा दिदी ‘जनयुद्ध’ गर्न जङ्गल छिरिन् । 

दुर्घटना मेरो जीवनमा एकपछि अर्को लस्कर बनेर आइरहेको थियो । चाँडै नै एक दिन अर्को दुःखद् खबर आयो, शत्रुको गोली लागेर अनकन्टार घोप्टे भीरमा दिदीले वीरगति प्राप्त गरिन् । कठै, उनको अवशेष कतै प्राप्त भएन रे ! के मेरो जीवन दुर्घटनाहरूको विश्व सङ्ग्रहालय थियो ? म पौने आठ अर्ब मानिसको संसारमा नितान्त एक्लो भएर बाँचिरहेको थिएँ । तपाईंलाई थाहा छ, यति एक्लो र अभागी त निर्जीव ढुङ्गा पनि हुँदैन । 

धेरैपछि... त्यो दिन आयो । मैले सन्ध्यालाई बीच बजारमा भेटेँ । त्यो सर्लक्क दुब्लाएकी थिई । आँखामा एक प्रकारको आकर्षक उदासी थियो । 

म सधैँ कम्मरमा आठ इन्चको छुरी बोकेर हिँड्थेँ । म सजग भएँ, जति ढिलो ग¥यो त्यति घाटा थियो । तर असनको भीडमा थिई । म त्यसलाई पछ्याउँदै हिँडिरहेको थिएँ । कहिले त्यो झुलुक्क देखिन्थी, कहिले टाउको मात्र देखिन्थ्यो । उसले नदेखोस् भनेर मानिसहरूको छेको लाग्दै हिँडिरहेको थिएँ । एकपल्ट उसलाई हातैले भेट्ने दूरीमा पुगेँ र कम्मरमा घुसारेको चक्कु स्पर्श गरेँ । झस्किएँ । यत्रा मानिसको भीडमा आक्रमण गर्ने साहस भएन । केही क्षण चुपचाप उभिरहेँ । ऊ पर पुगिसकेकी थिई । जिन्दगीभरि म हरेक पाइलामा यसैगरी चुकिरहेको थिएँ । तत्काल हत्या गर्ने मौका गुम्दै गएकोमा मैले आफैँलाई हकारेँ । 

अब ऊ निकै कम चहलपहल भएको बाटोमा पुगी । गोविन्द गोठालेकोे अवसादग्रस्त पात्रजस्तै म उसको पछिपछि त थिएँ तर किन हो दिनको प्रकाशमै हत्या गर्ने साहस भएन । मेरो हृदय र दिमागबीच बारम्बार द्वन्द्व चलिरहेको थियो । दिमाग भन्थ्यो, दुविधा नै तेरो असफलताको जरा हो । लक्ष्य प्राप्त गर्नु छ भने तुरुन्त आक्रमण गर ! हृदय भने आनाकानी गरिरहेको थियो । मेरो चेतनशील दिमाग सधैँ भावुक हृदयसँग पराजित हुन्थ्यो । होस्, म यसको हत्या एकान्तमै गर्छु । (प्रतिशोध वास्तवमा एकान्तमै सम्भव हुन्छ ।)

ऊ गाडी चढी । ढोकानजिकै खाली सिटमा बसी । उसलाई के थाहा, उसैलाई छुरी रोप्ने मौका खोज्दै एउटा युवक, जो उसकै पूर्वपे्रमी हो, निरन्तर पछ्याइरहेको छ ! म पनि गाडी चढेँ र पछाडि गएर उभिएँ । एकै छिनमा गाडी भरियो । दुवै हातमा गह्रौँ झोला बोकेकी डालिली शरीरकी एउटी युवती मेरो पिठिउँमा भारी स्तन दबाएर उभिई । यस्तो स्थितिमा कुनै युवक कति रोमाञ्चित र उत्तेजित हुन्छ भन्ने थाहा छ । तर ममा त्यसको कुनै प्रभाव परेन । यति थाहा छ, कोटेश्वर पुगेपछि त्यो ओर्ली । 

म पछाडिको खाली सिटमा बसेँ । कुलेश्वरतिरबाट आएको टेम्पोबाट हतारहतार झरेर प्लस टु पढ्ने दुई नवयुवती खाली सिटमा मसँग टाँस्सिएर बसे । तिनका फ्रक घुँडाभन्दा कति माथि थिए भने सेता पुष्ट तिघ्रा झलझलाकार देखिन्थे । अग्लो सिटमा त्यसरी बस्दा तिनको हालत कस्तो हुन्छ, तपाईं प्रस्ट अनुमान गर्न सक्नुहुन्छ । 

वरिपरिका युवक सायद मप्रति ईष्र्या गरिरहेका थिए । तिनीहरूका लोभी नजर बारम्बार नवयुवतीका शरीरका तिनै भागमा पर्थे । अन्ततः झोलाले छेकेर तिनीहरू आफ्नो सुरक्षाको असफल प्रयास गर्न थाले । यस दृश्यले पनि मलाई कुनै उत्तेजना दिएन । के म ढुङ्गा भइसकेको थिएँ ? सायद, मेरा सबै उत्तेजना मृत भइसकेका थिए । 

सन्ध्या बसेकी सिटको छेउ खाली भयो । एउटा भुँडे अद्बैँसे ऊसँग टाँसिएर बस्यो । सन्ध्या अलि भित्तातिर कोच्चिई । त्यो उसलाई अभद्र तरिकाले हेरिरहेको थियो । उठ्दा हातमा स्तनको दबाब पर्नेगरी उसको अगाडि डन्डीमा हात तेस्र्यायो । अद्बैँसेको चर्तिकलाले पनि मलाई असर गरेन । 

झन्डै बाह्र किलोमिटरको यात्रापछि ऊ उठी र संयमित तरिकाले अद्भबैँसेको तेर्सिएको हातबाट आफ्ना स्तन जोगाई । दुवै हातमा गह्रौँ झोला झुन्ड्याएर ऊ दक्षिणतिर लागी र पर पुगेर गाउँतिर जाने गाडी चढी । ऊ सिटमा बसेर रातो कपाल भएकी किशोरीसँग गफिन थाली । 

किशोरी प्लस टु पढ्ने रैथाने छात्रा भएकी अनुमान उसको युनिफर्म र कुराकानीबाट सजिलै गर्न सकिन्थ्यो । त्यो बातैपिच्छे पूरै यात्रुको ध्यानाकर्षण हुनेगरी झर्ना छङछङाएझैँ हाँस्थी । दुवै जना अन्तिम बिसौनीमा ओर्लिए । केही क्षणपछि छात्रासँग छुट्टिएर ऊ पश्चिमतिर लागी । घना सहरी रमझममा हुर्केकी सन्ध्या कसरी यति शान्त गाउँमा आइपुगी ? बिहे गरेर वा बसाइँ सरेर ? प्रश्न मनमा कतै खेलिरहेको थियो तर त्यससँग मेरो सरोकार थिएन । म लगातार उसको पिछा गरिरहेको थिएँ ।

सन्ध्या कोठेबारी र सानो बगैँचा भएको चिटिक्कको घरभित्र छिरी । बगैँचामा गोदावरी र सयपत्री ढकमक्क फुलेका थिए । ऊ भुइँतलाको दक्षिणपट्टि कोठाको झ्याल खुलै राखेर लुगा फेर्न थाली । म पाइलैपिच्छे मौका गुमाइरहेको थिएँ । अब के गर्ने ? म अलमलिएँ । दिउँसो मेरो योजना असफल हुन सक्थ्यो । आक्रमणअघि नै उसले मलाई देखी भने पक्कै चिच्याउँछे । त्यसपछि गाउँलेहरूले मलाई पक्रन्छन् । म फेरि थुनिन्छु र लक्ष्य पूरा गर्न नसकेको मानसिक तनावले चाँडै नै मर्नेछु ।

सोचेँ, मध्यराति ढुक्कले यसको हत्या गर्छु । नजिकै चौतारोमा चुनावी आमसभा भइरहेको थियो । संसारमा गरिबको राज्य छैन भन्छन् तर पनि यो देशमा ल्याउने हाम्लाई मन छ, जीवन शर्माको गीत घन्किरहेको थियो । स्वरमा स्वर मिलाउँदै नेता–कार्यकर्ता नाचिरहेका थिए । देशमा सर्वहाराको राज्य स्थापना कसरी हुन्छ ? गीत र नाच सकिएपछि, हँसिया–हथौडा अङ्कित रातो क्याप लगाएको नेता व्याख्या गर्न थाल्यो । त्यहाँ सबैलाई गाँस, वास, कपासको व्यवस्था हुन्छ । कोही ठूला हुने छैनन्, कोही साना हुने छैनन्, सब बराबर । उसको बातैपिच्छे हँसिया–हथौडा अङ्कित झन्डा बोकेका कार्यकर्ताहरू ताली पिट्थे । ताली बजुन्जेल नेता चुप लाग्थ्यो र फेरि आँैला ठड्याई–ठड्याई, उर्लिएको खहरेजस्तै स्वरमा भाषण दिन्थ्यो । 

म त्यहाँ धेरै बेर टिक्न सकिनँ । मेरो मन कतै पनि स्थिर रहँदैनथ्यो । म दिनभरि नजिकैकै जङ्गल र खोलाकिनारमा भौतारिएँ । गोठाला केटाकेटी मलाई देखेर अचम्म मानिरहेका थिए । घाँस र पत्करको भारी बोकेर घर फर्कंदै गरेका युवतीहरू मलाई देखेर झसङ्ग हुन्थे । (के मेरो रूपरङ त्यति डरलाग्दो भइसकेको थियो ? के त्यही कारण सन्ध्याले मलाई नचिनेकी हो ? वास्तवमा मैले ऐना नहेरेकै जुग भइसकेको थियो ।) माथि सल्ला सुसाएको र तल रूखका हाँगा भाँचिएलाझैँ गरी हुरी चलेको वातावरणबीच म निकै अबेरसम्म जङ्गलमा भौँतारिइरहेँ । 

राति ११ बजे गाउँ सुनसान थियो । म उसको घर परिसरको पर्खाल नाघेर भित्र छिरेँ । दक्षिणतिरको झ्याल अझै खुला थियो । कोठामा मधुरो बत्ती बलिरहेको थियो । झ्यालसँगै जोडिएको खाटमा सफा तन्ना ओछ्याइएको र सिरक गोलो पारेर सिरानमाथि राखिएको थियो । भित्र बच्चा रोइरहेको सुनिन्थ्यो । 

म एक छिन उदास भएर भित्रतिर हेर्न थालेँ । कम्मरमा भिरेको छुरी निकालेँ । 

सानो बच्चालाई दूध चुसाउँदै र ठूलो बच्चालाई पिठिउँमा बोकेर सन्ध्या देखा परी । ठूलो बच्चाको निधारमा पानीपट्टी थियो । बालक सायद ज्वरोग्रस्त थियो र एकोहोरो बर्बराइरहेको थियो । मेरो सास टक्क अडियो । ज्वरोग्रस्त बालक बर्बराउँदै रुन थाल्यो । सन्ध्याले सानो बच्चोलाई ओछ्यानमा राखी र ठूलोलाई फकाउँदै झुलाउन थाली । बाबु भइखाएको उसको लोग्ने भित्र कोठामा सायद मस्त निदाइरहेको थियो । ओछ्यानमा राखिएको सानो बच्चा पनि रुन थाल्यो । सन्ध्याले ठूलोलाई ओछ्यानमा राखी र सानोलाई पिठिउँमा बोकी । फेरि उसले ठूलोलाई काखमा लिएर झुलाउन थाली । अब दुवै बच्चा रोइरहेका थिए । ऊ दुवैलाई झुलाएर फकाइरहेकी थिई । यस्तो बेला म सजिलै उसको हत्या गर्न सक्थेँ । त्यहाँ उसको रक्षक पनि कोही थिएन । 

हरे ! एकाएक यो मलाई के भयो ? म त टोलाएर एकोहोरो हेरेको हे¥यै भएँ । मेरा आँखाबाट बरर्र आँसु झरे । भक्कानै फुट्लाजस्तो भयो । मलाई आफ्नै बाल्यकाल प्रत्यक्ष भएझैँ लाग्यो । दिदी मलाई हरदम यसैगरी बोकेर हिँड्थिन् । मेरै लागि तिनले कतिकति दुःख झेलिन् । खासमा ती मेरी आमाभन्दा कैयन् गुणा बढी आमा थिइन् । मायाकी प्रतिमूर्ति तिनलाई कहाँ भेट्नु मैले अब ? 

मेरो हातबाट छुरी खस्यो र छिनमै म शीताङ्ग भएँ । त्यस दृश्यमा म त उसलाई प्रेमकी अनुपम प्रतिमूर्ति पो देख्न थालेँ । मेरो हत्यारा मनोदशा एकाएक परिवर्तन भयो । होइन, म प्रेमको एउटा महान् प्रतिमूर्तिबाट ऋणी भएर फर्किएँ । प्रेम, सेवा, बलिदान, पुण्य, कृतज्ञता सायद मेरो जातित्वमै थियो । त्यसैले मैले आफ्नो चिर योजना विगतका असफल सपनासँगै छाडिदिएँ । म भन्न सक्दिनँ, तर प्रतिदानरहित प्रेम सायद मेरो रगतमै थियो...र सायद म अझै उसलाई एक अदृश्य प्रेमीले जस्तै प्रेम गरिरहेको थिएँ । 

म अङ्गुलीमालबाट कायाकल्प भएको अहिंसकजस्तै चुपचाप त्यहाँबाट निस्किएँ र अँध्यारो चिर्र्दै हिँडेँ । नजिकै एउटा सत्तलमा आराम गर्न बसेँ । त्यहीँ भुसुक्क निदाएँ । सपनामा सन्ध्या उदास नजरले मलाई हेरिरहेकी थिई । म भने कृतज्ञ भएर उसको सामुन्ने उभिएको थिएँ । मभित्र जीवनको सुन्दर सङ्गीत झङ्कृत भइरहेको थियो । 

पूर्वतिरको क्षितिज हल्का रातो हुँदै गएको थियो । मधुरो रङ्गीन उज्यालोबाट प्रकट भएर प्रशान्त मुस्कान छर्दै गौतम बुद्ध मैतिर आइरहेका थिए । यो कस्तो अनुपम दृश्य ! उनलाई स्वागत गर्न मुस्कुराउँदै मैले आफ्ना दुवै हात फैलाएँ ।