• १३ साउन २०८१, आइतबार

जमेको जोडी

blog

एकछिन कल्पना गरौँ त आठ दशकको उमेर टेकेको मान्छेको दिनचर्या कस्तो हुन्छ ? ध्रुव हाडालाई भेट्नुभएको छ र चिन्नुभएको छ भने तपाईंको कल्पना नमिल्न सक्छ । असी वर्षको उमेर टेक्दासम्म कलाकारिता, निर्देशन, कार्यक्रम संयोजन मात्र होइन, १०–५ को सरकारी जागिरसम्म भ्याउनुभएको छ उहाँले । भक्तपुरको ऐतिहासिक पोखरी नःपुखुको किनारमै अवस्थित भव्य घरको तल्लो तलामा हामी जम्मा भएका छौँ, वरिष्ठ कथाकार रत्न कोजूको साथमा मङ्सिर १७ गते । दुई दशकअघि महेन्द्र पुलिस क्लबमा बसेर उहाँ र उहाँको जोडी अर्का चर्चित हास्यकलाकार राजपाल थापासँग उहाँहरूको कलाकारिताबारे कुराकानी गरेको स्मरण गर्दै । त्यति बेलाको स्मृतिसँगै कलाकार राजपाल थापाको झन्डै दुई दशकअघि निधन भएको दुःखद खबरले पनि होला, केही समयको संवाद उहाँमै केन्द्रित हुन पुग्छ । 

राजपाल हाडाको नामले चर्चाको शिखरमा पुगेको राजपाल थापा र ध्रुव हाडाको जोडीले प्रहसन प्रस्तुत गरेर हास्यव्यङ्ग्य क्षेत्रमा आउँदा त्यति बेला हास्यव्यङ्ग्य कलाकार नै थिएनन् । उहाँहरूको दाबी हो यो ।  हास्य जोडी राजपाल थापा र ध्रुव हाडाको यो दाबीले पनि प्रस्ट पार्छ, उहाँहरूको विगतको महŒव । त्यसो त गाईजात्राजस्तो सुसंस्कृत संस्कृति भएको मुलुकमा डबली, रङ्गमञ्च, चलचित्र, रेडियो, टेलिभिजन, नहुँदा पनि चोक–चोकमा, गल्ली–गल्लीमा, सहरबजारमा गाईजात्राको अवसर पारेर एक्लै हँसाएर हिँड्नेहरूको सङ्ख्या पनि कम थिएन । बेखानारायण (बेखाचा), दानबहादुर शाही (दाँचा), नारायणप्रसाद ग्वारा, एनपी, डा. लक्ष्मण रिमाल, लक्ष्मण लोहनी आदि कलाकारको मात्र नाम लिँदा पनि हास्यव्यङ्ग्यको इतिहास, अभिनयको इतिहास, कलाकारिताको इतिहास प्रस्टिन्छ । 

ज्युँदो मुर्दा, टुरिस्ट गाइड, कार्यालय निरीक्षण, म भएँ, पटके चोर, दुई कविको मुठभेड, दुई स्वास्नीको पोइ कुना पसी रोई, रिसको बैङ्क, हकर्सको टक्कर, बम्पर उपहार, हस्पिटलको बेड, दुलहा बिक्री केन्द्र आदि गरी करिब डेढ सय प्रहसनमा संयुक्त अभिनय गर्ने राजपाल थापा–धु्रव हाडाको जोडीले प्रहसनमा अभिनय गर्ने काम मात्र गर्नुभएन; लेख्ने, निर्देशन गर्ने, अरूलाई सहभागी गराउने, प्रहरी–सेना–विद्यार्थी आदिलाई अभिनय सिकाउने काम पनि गर्नुभयो । 

हास्यव्यङ्ग्य क्षेत्रमा थापा–हाडाको जोडी जति बलियो रह्यो, त्यति बलियो स्थिति उहाँहरूको आर्थिक स्थिति (अभिनयबाट प्राप्त हुने) भएन । गाउँसहर, कुनाकाप्चामा प्रहसन देखाउन उहाँहरू धेरै धाउनुभयो । पैदलै हिँडेर अनेकौँ ठाउँ चहार्नुभयो र त्यसबापत छोयला, चिउरा, भटमास खाने काम उहाँहरू गर्नुहुन्थ्यो ।  कार्यक्रमबाट आएको रकम सहयोगकै नाममा खर्च हुन्थ्यो रे । कला साधनाका साथसाथै सहयोगी भावले अघि बढ्दाबढ्दै उहाँहरू पछि पर्नुभयो, सहयोग पाउनेहरू अघि बढे । अरूलाई सहयोग गर्न रमाउने यी रमाइला जोडी आफूहरूलाई सहयोग गर्न अघि बढ्नेहरू नपाउँदा भने तीनछक पर्नुभयो । तैपनि घरमा गाली खाए पनि, खल्ती खाली भए पनि दर्शकको ताली खान पाए मात्र पनि रमाउनुहुन्थ्यो । 

राजपाल हाडाको काम प्रायः सामाजिक व्यङ्ग्यमै केन्द्रित हुन्थे । नेता–कार्यकर्ता, मन्त्री–सचिव आदिलाई व्यङ्ग्य गरेर राजनीतिमै केन्द्रित हुने प्रहसन उहाँहरूले निकै कम देखाउनुभयो । राजनीति व्यङ्ग्य त्यति स्थायी नहुने र प्रायः दर्शकलाई सामाजिक व्यङ्ग्य मन पर्ने भएकाले । यस्तै सामाजिक व्यङ्ग्य देखाएरै पनि बढी लोकप्रिय भएका उदाहरण अनेकौँ छन् । यो जोडीको प्रहसन हेर्न दर्शक नेपालको सुदूरपश्चिममा समेत पाँच सय रुपियाँको टिकट एक हजार तिरेर भए पनि, लाठी चार्ज भएर होहल्ला हुँदाहुँदै पनि झुम्मिन्थे । 

राजपाल थापा–धु्रव हाडाको जोडीले प्रहसनमा अभिनय गर्ने काम मात्र गर्नुभएन; लेख्ने, निर्देशन गर्ने, अरूलाई सहभागी गराउने, प्रहरी–सेना–विद्यार्थी आदिलाई अभिनय सिकाउने काम पनि गर्नुभयो ।

रेडियो नेपालबाट एकताका प्रसारित हुने अत्यधिक लोकप्रिय कार्यक्रम रसरङ्गमा समेत करिब तीन वर्ष सक्रिय रहेर चर्चित हुने थापा–हाडा जोडीको पहिलो संयुक्त प्रस्तुति २०२३ सालमा प्रदर्शित ‘ज्युँदो मुर्दा’ हो र अन्तिम २०५५ मा प्रदर्शित (नयाँ) ‘दुलहा बिक्री केन्द्र’ हो । २०२३ देखि २०५५ सम्म संयुक्त रूपमा यात्रा गरे पनि उमेरका कारण राजपाल थापाको यात्रा अलि अघि नै थालिएको हो । केही वर्ष भने ध्रुव हाडाले राजपाल थापाको उमेरको कारण जोडीबाट छुट्टिएर केही प्रहसनमा आफ्नो अभिनय प्रस्तुत गर्नुभयो । डेढ दशकअघि कलाकार राजपाल थापाको निधनसँगै एक्लोजस्तै बन्नुभएका धु्रव हाडाले अभिनयलाई अझै आत्मसात् गर्नुभएको छ । 

धु्रव हाडाभन्दा उमेरले पाका राजपाल थापा । अभिनयमा पनि अलि अघि नै देखा पर्नुभएको हो ।  वि.सं. १९७९ कात्तिकमा इलाममा जन्मिनुभएका थापाले नौ वर्षको उमेरमै सत्य हरिश्चन्द्र नाटकमा रोहितको भूमिका निर्वाह गर्नुभएको थियो । हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा सबभन्दा पहिले उहाँ २०११ सालमा (३२ वर्षको उमेरमा) परालको आगो प्रहसनमा बहुलाको भूमिकामा देखा पर्नुभयो । त्यसपछिका दिनमा भने उहाँको सक्रियता बढ्दै गए । यसै क्रममा उहाँले वासुदेव लुइँटेल पुरस्कार, गोपालराज पन्त पुरस्कार पाइसक्नुभएको छ । विभिन्न सङ्घसंस्थाले अभिनन्दन गरेका छन्, सम्मान गरेका छन् । कलाकारितामा लागेर पनि राजपाल थापाले जीवन निर्वाह गर्ने माध्यम प्रहरी सेवालाई रोज्नुभयो । २००७ सालमै प्रहरी हबलदार भई सेवा प्रवेश गर्नुभएका उहाँ प्रहरी निरीक्षकसम्म बनेर २०४२ मा अवकाश हुनुभयो । अतीतका थुप्रै स्मृति साँचेर भक्तपुरको नःपुखु छेउ उभिएर सोच्ने हो भने धु्रव हाडाले कलाकारितामा भोेगेका सकसभन्दा यसबाट पाएको खुसी र सन्तुष्टिले आत्मसन्तोष दिएको छ । जीवनको साढे तीन दशक सँगै कलाकारिताको यात्रा गरेका जोडीको निधनपछि एक्लोजस्तो अनुभूत गर्नुभएका धु्रव हाडाले आफ्नो जीवनसँग जोडिएको कलाकारितालाई भने निरन्तरता दिँदै आइरहनुभएको छ । 

पुख्र्यौली थलो भक्तपुरको दरबार स्क्वाएर नजिक हुनेखाने परिवारमा वि.सं. २००० पुस १ गते भक्तपुरमा जन्मिनुभयो धु्रव हाडा । काठमाडौँको जयनेपाल, रञ्जना, विश्वज्योति, पाटनको अशोक सिनेमा हल अनि भक्तपुरको नवदुर्गा चलचित्र मन्दिर एकताका मनोरञ्जनको सशक्त माध्यम चलचित्र प्रदर्शनमा नाम चलेका सिनेमा हल थिए । १५ रोपनी जग्गामा फैलिएको नवदुर्गा चलचित्र भवन राम्ररी नचलेपछि यसको आधा जमिन प्लटिङ गरेर बेचियो । त्यही जग्गाको एक टुक्रा जग्गा किनेर धु्रव हाडाले डेढ दशकअघि घर बनाएर बस्न थाल्नुभएको हो । कला क्षेत्रमा रुचि भएका हाडाले कला क्षेत्रकै थलो छनोट गरेर बस्न थालेको सुन्दर र कलात्मक घरभित्र कलाकारिताका विगत र वर्तमान मात्र होइन, यसले बेहोरेका आरोह अवरोहका साक्षीसमेत बन्नुभएको छ उहाँ । 

उहाँको कलाकारिताको आरम्भ भने २०१२ सालमा उहाँ १२ वर्षको  छँदै हास्यव्यङ्ग्यात्मक प्रस्तुतिबाट भयो । आगमनसँगै २०१२ सालमै पुरस्कार पाएर अघि बढ्का उहाँले सांस्कृतिक संस्थान, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, महेन्द्र पुलिस क्लब, बाल सङ्गठन, ललितपुर कला संस्कृति प्रतिष्ठान आदिबाट सम्मान र पुरस्कार पाउनुभयो । साधना सम्मान, गोपालराज पन्त पुरस्कार, प्रबल गोदवा पनि उहाँले पाउनुभयो । छोयला, चिउरा भटमासमै अभिनयको आर्जन सीमित राख्ने ध्रुवले पनि जीवन निर्वाह गर्न प्रहरी सेवा नै रोज्नुभयो । २०२४ सालमा प्रहरी सहायक निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गर्ने ध्रुव हाडा प्रहरी उपरीक्षकसम्म भई २०५६ सालमा अवकाश हुनुभयो । अवकाशपछिका दिनमा पनि विज्ञका रूपमा करार सेवामा निरन्तर सेवारत हुनुहुन्छ । उमेरले जेठा, पदले कान्छा भए पनि कलाकार राजपाल थापालाई उहाँले दाजुकै रूपमा सम्मान गर्नुभयो र सेवामा छँदासमेत राजपाल थापालाई तपाईं नै सम्बोधन गर्नुभयो, ध्रुव हाडालाई तिमी भनेर राजपाल थापाले जीवनको अन्तिम कालसम्म सम्बोधन गरिरहनुभयो । कलामा पाइला टेकेपछि सुस्ताउने कल्पनासम्म नगर्ने उहाँले रङ्गमञ्चमा टेकेपछि दर्शक नै देख्नुभएन, आफूले बोल्ने संवाद र अभिनयबाहेक । उहाँको यही कथनले भन्छ, ध्रुव हाडा विगत सम्झेर रमाइरहनुभन्दा अभिनयमा पनि अझै रमाइरहनुभएको छ ।  

उमेरले उकालो चढ्दै गए पनि अभिनयमा जम्न र लाग्न उहाँहरू थाक्नुभएन । कला क्षेत्रमा यत्राविधि कलाकार बढे पनि हास्यपात्रहरू खासै नबढ्नुमा प्रहसन विधा निकै गाह्रो भएकाले हो भन्ने ठान्नुहुन्थ्यो राजपाल हाडा ।  नायक, खलनायक आदि नै हास्यपात्र हुन थालेपछि  हास्यव्यङ्ग्यमा अभिनय गर्नेहरूको स्कोप कम भएको हो भन्ने बुझाइ रह्यो उहाँहरूको । आफ्ना अधिकांश प्रहसन चोरी भएको गुनासो पोख्ने थापा हाडा जोडी प्रहसन वास्तवमै सबैले रुचाउने हुनुपर्छ न कि एउटा पक्ष दङ्ग पर्ने, अर्को पक्ष मुर्मुरिने हुनुहुन्न भन्ने गर्नुहुन्थ्यो  । हास्यव्यङ्ग्य सशक्त भाषाले भन्दा अभिनयले हुन्छ, सीमितले भन्दा व्यापकताले हुन्छ भन्ने बुझाइ रह्यो उहाँहरूको ।  

हास्यव्यङ्ग्यमा गोपालराज मैनालीको अभिनयलाई बढी रुचाउने यो जोडी मह जोडी, सन्तोष पन्त, वसुन्धरा भुसाल आदिदेखि नयाँ पुस्ताका अनेकौँ कलाकारको अभिनयबाट सन्तुष्ट बन्यो । नाम हास्यव्यङ्ग्यकार काम राजनीति र गम्भीर कुरा गर्ने प्रवृत्तिले अचेलका हास्यव्यङ्ग्य सीमित र खल्लो भएको विचार पनि उहाँहरू व्यक्त गर्नुहुन्थ्यो । 

हास्यव्यङ्ग्यमा सफल, स्वाभाविक र सरल जोडीका रूपमा देखा पर्ने थापा–हाडा जोेडीले २०२४ देखि निरन्तर प्रहसन प्रस्तुत गर्दै आइरहनुभयो ।  कला बनाएर बन्ने कुरा होइन, सिकाएर सिकेकोभन्दा केटाकेटीदेखि नै अभ्यास गरेर भित्रैबाट आएको कला बढी प्रभावकारी हुन्छ । उहाँको अनुभव बोल्छ । असीवर्षे उमेर टेक्दै गर्दा पनि ध्रुव हाडामा अभिनय गर्ने सोख छ । त्यसैले त उहाँ भन्नुहुन्छ– अभिनयबिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ होला । हाम्रो परिचय नै यसमा रह्यो, यही क्षेत्रबाट चिनियौँ, नाम सम्मान यसैले दियो । यसबाट अलग हुने त कुरै छैन, कसैले मलाई कला क्षेत्रबाट अलग राख्यो भने सायद म धेरै बाँच्दिनँ होला ।