तिमी आमाले जस्तै
मलाई सम्झाउँछ्यौ
के गर्न हुने
के गर्न नहुने ?
एउटा बालखलाई झैँ
बुझाउँछ्यौ
कहिलेकाहीँ तिम्रो सल्लाह
मलाई अर्ति–उपदेशजस्तो लाग्छ
‘ह्या यस्तो पनि हुन्छ कतै ?’
म झर्किन्छु र
ठाडै तिम्रो प्रतिवाद गर्छु
तर एकैछिनमा
मस्तिष्कका तन्तुहरूको जराजरासम्म
बिस्तारै तिम्रा कुराहरू पुग्न थालेपछि
प्रतिवाद गरेका कुरामाथि नै
मलाई औषधिले जस्तो
असर गर्न थाल्छ
अनि म फेरि
तिमीले गाडेकै किलोमा
तिम्रो विचारको डोरीमा बाँधिएर
घुम्न थाल्छु
अनि मलाई तिमी कताकता
आमाजस्तै लाग्न थाल्छौ
आमा त तिमी हौ नै
तर मलाई तिमी
मलाई छोडेर गएकी उनै आमा
फेरि फर्किएर आएजस्तो लाग्छ्यौ
भर्खर अनुभव गर्न थालेको छु–
मलाई थाहा–खबरै नदिई
तिमी कतिखेर
मेरी आमा पो भइसकिछ्यौ ।