• १२ असोज २०८१, शनिबार

बालिका छात्रवृत्ति अभियान : ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान

blog

७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई मानव अधिकार तथा शान्ति समाजद्वारा छात्रवृत्ति प्रदान । तस्बिर : मानव अधिकार तथा शान्ति समाज

मोरङ, माघ २५ गते । मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले ३४ जना बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको हो ।

मोरङको थलाहामा बुधबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात जना गरी ३४ जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष तीन जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ जना बालिकालाई प्रदान गरिएको हो ।

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात् १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकाहरुलाई १२ हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गरिने छ ।

शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा. जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, जनता माविका प्र अ रामनारायण विश्वास, सरस्वती माविका अध्यापक हरी कट्टेल, भगवान् पुडासैनी, धन थापालगायतले शान्ति समाजले थालेको शिक्षा र स्वास्थ्यको अभियानबारे प्रकाश पार्नुभएको थियो ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरू रामप्रसाद जोशीले दुई जना, अनुजा खनालले दुई जना, संवत् थापाले दुई जना र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नु भएको छ ।

यसैगरी, रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र  आर्या पाण्डेले यो छात्रवृत्ति अभियानका लागि सहयोग गर्नुभएको छ ।