काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर चार सय १४ दशमलव ८७ मा पुगेको छ ।
यस्तै, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कूल दुई सय १५ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एउटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर रु तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ पुगेको छ ।
कारोबार रकमका आधारमा एनआइसी एसिया बैङ्क शीर्ष स्थानमा रहेको छ । बैङ्कको शेयर १२ करोड ९२ लाख ४२ हजार सात सय २६ मा कारोबार भएको छ ।
यस्तै, न्यादी ग्रुप पावर ११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी छ करोड ६४ लाख ७२ हजार एक सय ७२ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रिडी पावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ।
यस्तै, आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र पाँच दशमलव ९०, एभेष्ट बैङ्कको ऋणपत्र एक दशमलव ९५,एनआइबिएल प्रगति फण्ड एक दशमलव ६९, नेपाल एसबिआई बैङ्कको ऋणपत्र एक दशमलव ५८ र लक्ष्मी बैङ्कको ऋणपत्रको मूल्य एक दशमलव २९ प्रतिशतले घटेको छ । रासस