काठमाडौ, माघ २४ गते । नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपराष्ट्रपति नन्दबहादुर पुनलगायत व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहणलगत्तै उपाध्यक्ष अर्यालले संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । यस क्रममा उहाँले सङ्घीय संसदमा महिला सांसदहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।