• १३ साउन २०८१, आइतबार

सुन्तला बिक्रीबाट २६ करोड आम्दानी

blog

अमरराज नहर्की

तनहुँ, माघ २४ गते । चालु आर्थिक वर्षमा यहाँका कृषकले सुन्तला बिक्रीबाट तनहुँमा २६ करोड आम्दानी भएको छ ।  जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएको सुन्तला विक्रीबाट सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तनहुँको कृषकको सुन्तला खेतीबाट आयस्तर परिवर्तन भएको छ । 

जिल्लाका ६ स्थानमा रहेको  ब्लक र कृषकको  विभिन्न बगैँचामा गरी एक हजार ४८० हेक्टरमा गरिएको सुन्तला खेतीबाट चालु आर्थिक वर्षमा २६ करोड आम्दानी गर्न सफल  भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो  । उक्त क्षेत्रफलमा नौ हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । व्यास नगरपालिकाको पोखरीभञ्ज्याङ, म्याग्दे गाउँपालिकाको उमा चोक, नाम्सीकोट, देवघाट गाउँपालिकाको वडा नं. ३ र ४, दुभुङ, अर्चल्दी लगायतका क्षेत्रमा सुन्तला खेती फस्टाएको जानकारी दिनुभयो  । सुन्तलाका पकेट क्षेत्रहरूमा ब्लक विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको  छ । गतवर्ष तनहुँमा २४ करोड सुन्तला विक्री भएको तिवारीले जानकारी दिनुभयो  ।  

सुन्तलाको फल लाग्ने समयमा आवश्यक मात्रामा वर्षा हुनुका साथै कम असिना परेकोले यस वर्ष उत्पादनमा वृद्धि भएको तिवारी बताउनुहुन्छ । जिल्लामा सुन्तला उत्पादनका लागि विभिन्न क्षेत्रमा रहेको सुन्तला पकेट क्षेत्रलाई ब्लकको रूपमा विस्तार गरी प्रवर्द्धन गर्न थालिएको छ ।

तिवारीका अनुसार तनहुँको म्याग्दे गाउँपालिका –२ को उमा चोकमा रहेको सुन्तला उत्पादक  ब्लक समिति, शुक्लागण्डकी नगरपालिका ११ नाम्सीकोटको सुन्तला जात फलफूल उत्पादक  ब्लक सञ्चालक समिति, व्यास नगरपालिका १३ मा रहेको  सुन्तला ब्लक समिति, देवघाट गाउँपालिकामा घण्टा चुली बहुउद्देश्यीय कृषक समूह र आँबुखैरेनी गाउँपालिकामा पतेनी सुन्तला उत्पादक कृषक समूह सुन्तला खेती र उत्पादनमा सक्रिय छन् ।  सुन्तला उत्पादनको सम्भावित क्षेत्रका कृषकलाई आवश्यक तालिमसहित बीउ बिरुवा अनुदान लिएर सुन्तला खेती गर्न प्रोत्साहन गरिएको छ  । सुन्तला ब्लक प्रवर्द्धन गर्न कृषकमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ । हरेक वर्ष जिल्लामा सुन्तला उत्पादनका लागि क्षेत्र विस्तार र कृषकका आवश्यक उत्पादन सामाग्रीमा सहयोग गर्दै आएको बताउनुभयो । जस अन्तर्गत केन्द्रका पहलमा ऋषिङ गाउँपालिका –३ मा पनि सुन्तला उत्पादन ब्लक निर्माण गरिएको छ । तनहुँको सुन्तला स्वादिष्ट हुने भएको काठमाडौँ पोखरा, नारायणगढ लगायतका प्रमुख सहरमा माग धेरै हुने गरेको छ । सुन्तलाका ठेकदारहरू कृषकको बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । सुन्तला खेतीले कृषकलाई धनी बनाएको छ । शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु. सात लाख ३० हजारको सुन्तला बिक्री गरेको बताउनुभयो ।  नगद आम्दानी हुँदा सुन्तलालाई सुन जस्तै लाग्ने महत बताउनुहुन्छ ।

एउटा ब्लकमा दुई करोडदेखि पाँच करोडको  आम्दानी

जिल्लाका अधिकांश सुन्तला उत्पादक कृषकहरूको ब्लकमा यस वर्ष दुई देखि पाँच करोडसम्म आम्दानी भएको छ । गतवर्ष उत्पादित सुन्तलाको राम्रो बजार भाउ पाउन नसकेका कृषकहरूले यस वर्ष ९० देखि एक सय १० रुपियाँ प्रतिकिलो थोक मूल्यमा विक्री गरेको म्याग्दे गाउँपालिका– २ स्थित उमा चोक सुन्तला उत्पादक व्लक समूहका अध्यक्ष निर्मल अधिकारीले जानकारी दिनुभयो ।

  यस समूहले यस वर्ष करिब रु. पाँच करोड आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । यहाँ एक सय ५५ कृषकहरूले समूहमा निर्माण गरी ब्लक सञ्चालन गर्दै आएका छन् । यस्तै व्यास नगरपालिका १३ मा रहेको ब्लकबाट मात्र यस वर्ष दुई करोड ५० लाख बढीको सुन्तला विक्री भएको छ ।