• २१ पुस २०८१, आइतबार

‘पिपल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक

blog

मनोनयनमा पर्न सफल क्रिकेटर आसिफ शेख र भलिबल खेलाडी उषा भण्डारी । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २३ गते । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा हुनुहुन्छ ।

गतवर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले जानकारी दिनुभयो । 

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबार नै इसेवासँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र इसेवाको तर्फबाट हेड अफ विजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गर्नुभयो । इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ । खेल पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहने बताइएको छ । 

यस वर्षको अवार्डमा आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । 

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ । त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ ।

अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् । यो अवार्डको मुख्य प्रायोजन हंसराज हुलासचन्द एन्ड कम्पनी हो ।