काठमाडौं, माघ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कतिवटा विधेयकहरू संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिनुभएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री प्रचण्डले संसद्को बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरू लैजाने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।
सांसद यादवले संसद् प्रभावकारी नबनेको भन्दै संसद्, रमिता देखाउने कुरामै सीमित रहेको बताउनुभयो । उहाँले आफूले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसद्को बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको जानकारी दिनुभयो । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभएको सांसद यादवको भनाइ छ ।
‘‘बिजनेस आएको छ की छैन, कसरी लैजाने ? के लैजाने ? यो सत्रमा कति वटा विधेयक लैजाने ? त्यो विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको हो । हामीले वास्तवमा संसद्लाई बिजनेस आएको छैन, संसद् अहिले प्रभावकारी बनेको पनि छैन, रमिता मात्रै भएको छ, भाषण मात्रै भएको छ ।’’ सांसद यादवले भन्नुभयो, ‘‘बिजनेस संसद्ले पाएको छैन, त्यसैले सदनलाई बिजनेस दिनुपर्छ भन्ने हाम्रो माग थियो । नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ । त्यो पास गर्नुपर्छ भनेका छौँ । प्रधानमन्त्री गम्भीर बन्नुभएको छ । करिब डेढ महिना यो सत्र चल्छ, यसमा करिब १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिबद्धता जनाउनुभयो ।’’
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आजको प्रमुख सचेतकहरूसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरूलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको बताउनुभयो ।
प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘बैठकमा सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरूलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको छ ।’’
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसद् सुचारु भए पनि संसद्ले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले सांसदलाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल गरेको जानकारी दिनुभयो ।
परियारले संसद् सुचारु भए पनि संसद्का प्राविधिक कुराहरूमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा सांसदलाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको बताउनुभयो । बैठकमा समितिहरू बन्न नसक्दा सांसदलाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्ने कुरामा छलफल भएको उहाँले बताउनुभयो । प्रमुख सचेतक परियारले आगामी संसद्का बैठकमा राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्त्वका विधेयकहरू सरकारले संसदमा प्रस्तुत गर्ने विषयमा छलफल भएको पनि जानकारी दिनुभयो ।
‘‘संसद् चले पनि संसद्ले गर्ने कार्य खासै नभएको जस्तो देखिएकाले बैठक बोलाउनुभएको थियो । सभामुख, उपसभामुखको निर्वाचनलगायत हामी प्राविधिक काममा अलमलिएका थियौँ । संसद्ले निरन्तर गर्नुपर्ने ऐन, कानुन, विधेयकका बारेमा प्रमुख सचेतकहरूसँग छलफल भएको छ । सांसदलाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल भयो । हामीसँग प्रतिनिधिसभा नियमावली समिति बनिसकेको छैन, जसकारण संसद्का समितिहरू नबन्ने भए ।,’’ प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘समिति नबन्दा विधेयकहरू आउँदा अलमलिने भयो भन्ने कुरा भयो । हामीले मस्यौदा समितिले पनि १५ दिन भित्र काम गरिसक्ने र संसदमा प्रक्रिया गर्दागर्दै केही प्रक्रिया लाग्ने भएकाले समिति नबन्दै सांसदलाई कार्य, व्यवसाय दिन सकिने भन्ने कुरा भएको छ । राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्त्वका विधेयकहरू सरकारले संसदमा प्रस्तुत गर्ने कुरा भएको छ ।’’
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसदमा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिनुभएको बताउनुभयो । उहाँले सहज रूपमा सरकारले संसदमा विधेयकहरू पेस गर्नका लागि के कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताउनुभयो ।
‘‘संसदमा पेस गर्नुपर्ने विधेयकहरूका सन्दर्भमा प्रधानमन्त्रीजीले संसदमा रहेका दलका प्रमुख सचेतकहरूसँग कुरा गर्नुभएको हो । संसद्ले बिजनेस पाइरहेको छैन, विधेयकहरू संसदमा विधेयकहरू अघि बढिरहेको छैन । सहज रूपमा सरकारले संसदमा विधेयकहरू पेस गर्नका लागि के कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘छलफलपछि कतिपय कन्फ्युजनहरू मेटिए । यतिबेला प्रतिनिधि सभा नियमावली मस्यौदा भइरहेको छ । मस्यौदा समितिले काम गरिरहेको छ ।’’
प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरू नबन्दा सरकारले संसदमा विधेयकहरू पेस गर्दा अप्ठ्यारो हुने कुराको बारेमा पनि छलफल भएको बताउनुभयो ।