• १३ साउन २०८१, आइतबार

१० दिनसम्म स्वर्गद्वारी प्युठान महोत्सव

blog

सलिम अन्सारी 

विजुवार, माघ २३ गते । प्युठान उद्योग वाणिज्य सङ्घले लुम्बिनी प्रदेशस्तरीय  औद्योगिक व्यापार मेला तथा स्वर्गद्वारी प्युठान पाँचौँ महोत्सव २०७९ आयोजना गर्ने भएको छ । बिजुवारस्थित गणतान्त्रिक खेलमैदानमा  आगामी फागुन ४ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुने सङ्घले जनाएको छ।

महोत्सवको तयारी तीव्र रूपमा भइरहेको सङ्घले जानकारी दिएको हो। जिल्लाको कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रको प्रवर्द्धन र लगानीमैत्री वातावरणका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको सङ्घका महासचिव सन्देश आचार्यले बताउनुभयो ।

करिब २ सय ५० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै  कृषिजन्य सामाग्रीको प्रदर्शनी रहनेछ। त्यसै गरी,  जिल्लालाई चिनाउने प्रमुख धार्मिक स्थल तथा पर्यटकीय स्थलको प्रचार महोत्सवमा गरिने छ । एक लाख दर्शकले अवलोकन गर्ने  महोत्सवमा ८ करोड रुपियाँको कारोबार हुने सङ्घले अनुमान गरेको छ। 

यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिका साथै जिल्लास्तरीय नृत्य प्रतियोगिता सञ्चालन हुनेछ। स्थानीय उत्पादनको बजारीकरण र समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुग्ने गरी महोत्सव सञ्चालन गर्न आयोजकलाई प्युठानवासीले सुझाव दिएका छन् ।