• १३ साउन २०८१, आइतबार

आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा

blog

बाबुराम शर्मा 

दोलखा, माघ २३ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ मकै बारी पुवाँलेमा एकाघरका चार भाइको संयुक्त आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । 

वडा नम्बर ७ कै उखुबारीका ती दाजुभाइले साबुन उद्योग सञ्चालनमा ल्याउनु भएको हो । केसी सोप एन्ड केमिकल इन्ड्रस्ट्रिज प्रालिका नाममा स्थापना भएको सो उद्योगले फार एक्स,पुर्खा, दोलखा टपलगायतका साबुन बजारमा ल्याएको सञ्चालक शिव केसीले जानकारी दिनु भयो । 

उहाँका अनुसार विदेशको मोह त्यागेर देशमै गर्न सकिन्छ भन्ने उद्देश्य लिएर उद्योग खुलेको हो । जिल्लाकै नौ महिला र १० पुरुषले रोजगारी पाएका छन् । दैनिक दुई टन साबुन उत्पादन हुन्छ । उत्पादित साबुन उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दोलखामा खपत हुने गरेको छ । 

अहिले उद्योगबाट कपडा धुने साबुन मात्रै उत्पादन भइरहे पनि आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगका सञ्चालक केसीले जानकारी दिनु भयो ।