• १२ असोज २०८१, शनिबार

दुई हजार ज्येष्ठ नागरिकको गाउँमै उपचार

blog

स्वास्थ्य जाँचका लागि लामबद्ध भएका स्थानीयबासी । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १९ गते । दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकको गाउँमै उपचार गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले दुई हजार सातजना ज्येष्ठ नागरिकको गाउँमै उपचार गरेको हो । 

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले एमबीबीएस, एमडी डाक्टरको व्यवस्था गरी वडा वडामा पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बताउनुभयो । 

वडा नं. १ देखि ९ सम्म महिला विकास शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकहरूमा के कस्ता रोग लागेका छन् र के कस्ता समस्या छन्, पहिचान गरिएको छ ।

साथै अपाङ्गता परिचय पत्र नवीकरण वितरण, गर्भवती जोडीलाई तालिम, गर्भवतीको भिडियो एक्स-रे गर्नुका साथै आँखा स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाइ छ । 

विभिन्न प्रकृतिका १३७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको  छ । शिविरमै एक हजार २०० भन्दा बढी ज्येष्ठ नागरिक साथै अपाङ्गता भएका व्यक्तिहरूको आँखा स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ढबलराज राईले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा तर्फको आयुर्वेद सेवा, आँखा परीक्षण, दन्त परीक्षण, गर्भवतीको भिडियो एक्स-रे सेवा, गर्भवती जोडी तालिम, अपाङ्गता, ज्येष्ठ नागरिक, दिर्गरोगीहरुको स्वास्थ्य परीक्षण, औषधी वितरणलगायतको सेवा गाउँमै पुगेर दिइएको राईको भनाइ छ । 

यसैगरी, महिला विकास शाखामार्फत प्रवाह गरिने अपाङ्गता परिचय पत्र वितरण साथै नवीकरण र ज्येष्ठ नागरिक परिचय पत्र शिविरबाटै वितरण गरिएको महिला शाखा प्रमुख चम्पा राईले जानकारी दिनुभयो । 

प्राध्यापक डाक्टर विजेन्द्र राईले गाउँपालिकाको नौवटै वडामा पुगेर शिविरमार्फत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवतीहरूको स्वास्थ्य परीक्षण साथै औषधी वितरण गरिएको बताउनुभयो । 


वडा नं. ७ सातसलेमा बिरामी जाँच्ने क्रममा प्राध्यापक डाक्टर विजेन्द्र राईसहितको टोली ।

पहिचान भएका दीर्घरोगी, नियमित औषधी सेवन गरिरहनुभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घर–घरमै औषधी वितरण साथै परामर्श गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । 

स्थानीयवासीले यस्ता शिविर निकै उपयोगी रहेको र हरेक वर्ष आयोजना गरिनुपर्ने माग गरेका छन् । गाउँपालिकाले सबै वडामा गएर पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।