बालकदेखि वृद्धसम्म सबैका निम्ति दूध तथा दुग्धजन्य पदार्थको महत्व सर्वविदितै छ । दूधबिना बालबालिका, वृद्धवृद्धा र बिरामीको जीवन सहज हुँदैन । विडम्बना देशभित्रै उत्पादन र आपूर्ति हुनुपर्ने दूध आपूर्तिको शृङ्खलामा ठूलो अवरोध छ । बढी उत्पादन हुने समयमा समेत बजारमा दूध अभाव छ । ग्रामीण क्षेत्रका किसान दूध नबिकेर पुर्पुरोमा हात राख्न बाध्य छन् भने सहरमा दूध आयात गरेर समेत टार्ने गरिन्छ । नेपालमा विशेषगरी असोजदेखि फागुन महिनासम्मलाई बढी दूध उत्पादन हुने समयका रूपमा लिइन्छ । माग र आपूर्तिबीच सन्तुलन नहुँदा नेपालका अधिकांश सहरी क्षेत्रमा दूधको अपर्याप्ताको स्थिति हुन पुगेको हो । यसैगरी ग्रामीण क्षेत्रमा उत्पादित दूधलाई उपयुक्त वितरण तथा ढुवानी प्रणालीमार्फत सहर बजारमा उपलब्ध गराउन नसक्दासमेत अभाव देखिएको यथार्थ हो ।
सहर बजारमा दूधको अपर्याप्त वितरणमा कोभिड १९ को दुष्चक्रलाई समेत जिम्मेवार मान्न गरिन्छ । कोभिडको सघन प्रभावका कारण दूध बिक्री नभएर खेर जान थालेपछि क्रमिक रूपमा दूधको अभाव हुन थालेको थियो । यसका अतिरिक्त उच्च माग रहेको सहर बजारमा ग्रामीण क्षेत्रमा उत्पादित दूधको सहज पहुँच नहुँदा पनि आपूर्ति र मागको असन्तुलनको अवस्था आएको मान्न सकिन्छ । दूध उत्पादक सङ्घसंस्थाका तथ्याङ्कलाई आधार मान्दा सामान्य अवस्थामा दैनिक ३६ लाख लिटर दूध आपूर्ति हुने गरेको छ । यो माग धान्न सक्ने दूधको आपूर्ति अवस्था हो तर हाल ३१ लाख लिटर मात्र आपूर्ति भइरहेको सन्दर्भ छ । यस अर्थमा दैनिक पाँच लाख लिटर दूधको आपूर्ति कम भइरहेको देखिन्छ ।
जनसङ्ख्यामा वृद्धि तथा कोभिडअघि खपत नभएको दूधलाई धुलो दूधमा परिणत गरेर भण्डारण गर्ने गरिएकोमा हाल पर्याप्त दूध उत्पादन नभएकै कारण यो चक्र प्रभावित बताइएको छ । नेपालमा दूधको खपत वार्षिक १४ प्रतिशतका दरले वृद्धि हुँदै गरे पनि सोही अनुपातमा उत्पादन तथा आपूर्ति व्यवस्थामा सहजीकरण हुन सकेको छैन । बरु दूध उत्पादन तथा सङ्कलन भने घट्दो अवस्थामा पाइएको छ । सरकारी निकाय दुग्ध विकास संस्थानले अहिलेको समयमा मुलुकभरबाट दैनिक एक लाख ८० हजार लिटर दूध सङ्कलन गर्दै आएकोमा हाल दैनिक एक लाख लिटरमा सीमित भएको छ । निजी डेरीको अवस्था पनि लगभग यस्तै पाइन्छ । विगतमा एक लाख लिटर दूध बजार पठाएर र बाँकी रहेको दूधलाई धुलो दूध बनाएर चैतदेखि भदौसम्म बजारमा दूधको आपूर्ति व्यवस्था मिलाउँदै आएकोमा अहिले आपूर्ति सन्तुलन प्रभावित भएको स्थिति छ । यसैकारण अहिले बजारमा सरकारी संस्थानबाट उत्पादित घिउलगायतका दुग्ध पदार्थमा कमी हुन थालेको छ ।
दुग्ध विकास संस्थान नै आफ्नो क्षमताको ५० प्रतिशतमा सञ्चालन भइरहेको अवस्थामा अन्य निजी क्षेत्रका डेरीको अवस्थाको सहजै अनुमान गर्न सकिन्छ । यस विषयलाई मूल्याङ्कन गर्दा विदेशबाट तत्काल दूध आयातको गर्न खोजिएको देखिन्छ । ग्रामीण क्षेत्रबाट दूध सङ्कलनको झन्झटतिर लाग्ने अवस्था कम देखिएको छ । असोज महिनामा मात्र संस्थानले तीन लाख लिटर दूध भारतको पटनाबाट आयात गरेको थियो । गाउँबाट दूध सङ्कलनभन्दा आयात गर्दा त्यसभित्र हुने भित्री खेल र लाभको समेत कतिपयले आकलन गर्ने गरेका छन् । नेपालजस्तो कृषिप्रधान मुलुकमा दूधको आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा दुःखद विषय हो । दूध उत्पादनजस्तो आधारभूत क्षेत्रलाई प्रोत्साहन गर्न दीर्घकालीन सरकारी नीति तथा कार्यक्रमको तर्जुमा एवं त्यसको इमानदार कार्यान्वयन महत्वपूर्ण स्थान हुन सक्नेमा शङ्का छैन ।
विदेशमा युवा शक्ति पलायन हुने क्रमलाई रोक्न पनि सरकारले पशुपालनलाई आकर्षक पेसाका रूपमा प्रस्तुत गर्ने कार्यक्रम सार्वजनिक गर्न ढिलाइ गर्नु हुँदैन । गाई, भैँसीका दाना, घाँस उत्पादनमा सहुलियत तथा विभिन्न किसिमका सुविधा त्यत्तिकै जरुरी देखिन्छन् । ग्रामीण क्षेत्रमा उत्पादित दूधलाई सहर बजार क्षेत्रमा सहज तरिकाले ल्याउन सहकारीको उपयोग तथा उपयुक्त ढङ्गबाट ढुवानी व्यवस्थाले स्थितिमा पक्कै पनि सहजता ल्याउने अपेक्षा गर्न सकिन्छ । उन्नत नश्लका गाई, भैँसी कृषकलाई उपलब्ध गराउने पनि सरकारी योजना हुनु वाञ्छनीय देखिन्छ । यीलगायतका यस्ता विषयमा सरकारको प्रयास भएमा देशमै रोजगारी सिर्जना तथा दुग्ध पदार्थका आयातमा कमी आउने सम्भावना हुनेछ ।