• १२ असोज २०८१, शनिबार

पहाडमा गाँजा उत्पादन, तराईमा पक्राउ

खुला सीमा कटाउन सुनसरी–मोरङ कारोबार ट्रान्जिट

blog

नवराज कट्टेल

विराटनगर, माघ १७ गते । कानुनले गाँजालाई लागूऔषध मानेको छ। यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाइएको छ। 

प्रतिबन्धित गाँजा भने नेपालबाट भारतको बजारमा लैजाने क्रम सालन्य बढेको बढ्यै छ। यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई राज्यको सुरक्षा संयन्त्रले कडाइ गरे पनि गाँजा कारोबार र व्यक्ति नियन्त्रणको परिमाण तथा सङ्ख्या नियन्त्रणको ग्राफ बर्सेनि बढेको देखिन्छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिना अवधिमा ६८ पुरुष र पाँच महिलाविरुद्ध ५१ वटा मुद्दा दर्ता गरिसकिएको छ। छ महिनाको अवधिमा प्रदेशका सात जिल्लाबाट एक हजार ३४९ किलो ३२० ग्राम ७०० मिलिग्राम गाँजा बरामद भइसकेको छ। इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुबाहेक बाँकी जिल्लामा लागूऔषध गाँजाको उत्पादन, ओसारपसार, कारोबार र प्रयोग हुने गरेको छ। 

चालू आर्थिक वर्षको छ महिनामा जिल्लागत विवरणअनुसार मोरङ र सुनसरीमा सबैभन्दा धेरै गाँजा बरामद भएको छ। मोरङमा तीन महिलासहित २१ जना व्यक्ति नियन्त्रण गरिएको छ भने ६५६ केजी गाँजा बरामद गरिएको छ। यसैगरी सुनसरीमा ११ जना पक्राउ परेका छन्। ५६५ केजी ६६४ ग्राम गाँजा बरामद गरिएको छ। गाँजा खेती मोरङ र सुनसरीमा हुँदैन। यसको उत्पादन पहाडी जिल्ला धनकुटामा धेरै देखिएको छ। धनकुटाका १८ जना व्यक्ति पक्राउ पर्दा ४७ केजी गाँजा बरामद गरिएको छ। भारततर्फ गाँजा लैजाने क्रममा सुनसरी–मोरङका विभिन्न स्थानमा पक्राउ परेकामध्ये धेरै सङ्ख्या धनकुटाकै छन्।

झापामा चार केजी गाँजासहित चार जना, उदयपुरमा १० केजी गाँजासहित १४ जना, खोटाङमा दुई केजी गाँजा र तीन जना व्यक्ति पक्राउ परेका छन्। प्रदेश १ प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नविनराज राईका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १३५ जना व्यक्ति पक्राउ गरेर १०६ वटा मुद्दा दर्ता गरिएको थियो। गत वर्ष दुई हजार २२ केजी गाँजा नियन्त्रणमा लिइएको थियो। 

सुनसरी–मोरङ ट्रान्जिट

प्रहरी उपरीक्षक राईका अनुसार प्रदेश १ मा सबभन्दा बढी गाँजा उत्पादन धनकुटामा हुने गरेको छ । धनकुटाबाट विभिन्न माध्यमको प्रयोग गरेर सुनसरी–मोरङमा गाँजा झारिन्छ। यहाँ आइसकेको गाँजा खुला सीमाको प्रयोग गरेर भारत पु-याउने गरिन्छ। ‘‘प्रहरीले यसको विस्तृत अध्ययन गरिरहेको छ, अहिलेसम्मको अनुसन्धान र अध्ययनले धनकुटामा उत्पादन भएको गाँजा मोरङ–सुनसरीबाट भारततर्फ निकासी हुँदै आएको छ,” प्रहरी उपरीक्षक राईले भन्नुभयो। 

प्रहरीले गत पुस महिनामा मोरङको रङ्गेली नगरपालिका–१, बबियाबाट ३५० केजी गाँजा स्थानीय मनोज राजवंशीको गाई गोठबाट बरामद गरेको थियो। भण्डारण गरिएको घर राजवंशीको भए पनि यसको ओसारपसारमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का बेचन भनिने हस्त राई भएको खुलेको छ। प्रहरीले राई र राजवंशी दुवैलाई नियन्त्रणमा लिएर लागूऔषध ओसारपसारको मुद्दामा अनुसन्धान गरेको थियो। यसैगरी सुनसरीको सीमा क्षेत्र कोसी गाउँपालिका–३ बाट गत मङ्सिर ७ गते २१७ केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको थियो। यसैगरी गत कात्तिक २२ गते १७५ केजी गाँजा सुनसरीका वराह क्षेत्रबाट बरामद भएको थियो। 

तरकारीसँगै आउँछ गाँजा

धनकुटामा उत्पादन भएको गाँजा सुनसरी–मोरङसम्म ल्याउनका लागि धेरैजसो तरकारी बोकेका गाडी प्रयोग भएको पाइएको छ। कोसी गाउँपालिका–३ मा नियन्त्रणमा परेको २१७ केजी गाँजा बन्दाकोभी बोकेर जनकपुर हिँडेको को. १ च. ८५२५ नम्बरको पिकअपबाट बरामद भएको थियो। यसैगरी गत हप्ता विराटनगर बसपार्कबाट बरामद ५० केजी गाँजा तेजपत्ता र रायो सागसँगै पक्राउ परेको थियो। नेपालमा प्रतिकिलो ७ देखि १० हजार रुपियाँ पर्ने गाँजा सीमा कटाएर भारतीय कारोबारसम्म पु-याउँदा २० हजार केजीले बिक्री हुने गरेको प्रहरीको बुझाइ छ। पक्राउ परेकासँग गरिएको अनुसन्धान र बयानका क्रममा यसको कारोबारबाट हुने लाभका कारण जोखिम मोल्ने गरेको पाइन्छ।