अर्जुन काफ्ले
स्याङ्जा, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लिइएको परीक्षाका उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। जिल्लामा परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण थालिएको हो।
जिल्लामा २१ वटा परीक्षा केन्द्र रहेकामा सबै केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा नियमिततर्फ ५० जना र ग्रेडवृद्धितर्फ २९ जना अनुपस्थित रहेका थिए। बाँकी सहभागी सबै विद्यार्थीका उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण गर्न थालिएको छ।
उत्तरपुस्तिका सम्बन्धित विषय अध्यापन गराउने शिक्षकहरूको रोस्टरबाट छनोट गरी परीक्षा केन्द्रमै परीक्षण सुरु गरिएको आचार्यले बताउनुभयो।
स्याङ्जा जिल्लाबाट यस वर्ष चार हजार २७५ विद्यार्थी परीक्षामा सहभागी हुने तय भए पनि पहिलो दिन चार हजार १९६ विद्यार्थी सहभागी भएका हुन्।
गत वर्षको तुलनामा यस वर्ष ७१७ विद्यार्थी कम भएपछि तीन वटा परीक्षा केन्द्र घटाइएको थियो।
यस वर्ष परीक्षामा सहभागीमध्ये छ वटा प्राविधिक विद्यालयका ११६ विद्यार्थी तथा चार वटा धार्मिक विद्यालयका १६ विद्यार्थी रहेका छन्।