• २० चैत २०८२, शुक्रबार

संस्कृति र सम्पदा जोगाउन सचेतना जरुरी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २० गते । काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं १७ वडाका अध्यक्ष नवीन मानन्धरले संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्ने बताउनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत बिहीबार आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीमा उहाँले  सम्पदा संरक्षण गर्न स्थानीय तह, सञ्चार माध्यम र समुदायबिच सहकार्य आवश्यक रहेको बताउनुभयो । काठमाडौँ उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने प्रवक्ता मानन्धरको भनाइ थियो ।

सो अवसरमा गुठी संस्थानका पूर्वप्रशासक किरण शाक्यले गुठी प्रणाली सम्पदा संरक्षणको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारले यससँग सम्बन्धित विभिन्न विषयमा गहिराइमा पसेर तथ्यमा आधारित सामग्री पस्किनुपर्ने बताउनुभयो ।

संस्कृतिकर्मी जितेन्द्र विलास वज्राचार्यले संस्कृति, सम्पदा जोगाउन मातृभाषामार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोग महìवपूर्ण रहेको बताउनुभयो । दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकारको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई स्थानीय पहिचान, भाषा र मौलिक ज्ञानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष सुरजवीर वज्राचार्य, पत्रकार विराजकाजी राजोपाध्याय, दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर र सचिव राजु नापितले पत्रकारिताको प्रवर्धन, नागरिक पत्रकारिता, तालिम, स्रोतसाधनको उपलब्धता र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको थियो ।