• १२ असोज २०८१, शनिबार

महानगरविरुद्ध व्यापारी आन्दोलित

blog

बरगाछी समाचारदाता

विराटनगर, माघ १७ गते । विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडकमा पार्किङ निषेध घोषणा गरेपछि व्यापारीहरूले विरोध गरेका छन्। बजार क्षेत्रको मुख्य सडकका व्यापारीले पार्किङ गर्न नदिने हो भने व्यापार व्यवसायबाट पलायन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोधमा प्रदर्शनसमेत गरेका छन्। 

महानगरपालिकाको निर्णयले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै सोमबार बजार क्षेत्रका पसलहरू बन्द गरी महानगरपालिकाविरुद्ध व्यापारीहरू विरोधमा उत्रिएका हुन्। सडकमा पार्किङ निषेध गर्दा तोकिएको पार्किङ स्थलमा सवारी रोकेर पसलसम्म सामान खरिद गर्न ग्राहक नआउने व्यापारीहरूको तर्क छ। अहिलेको चरम आर्थिक सङ्कटका समयमा महानगरको पार्किङ निषेध योजनाले व्यवसायमा झनै सङ्कट ल्याउने व्यापारीको आरोप रहेको छ। 

विराटनगरका महानगरपालिकाको पार्किङ निषेध योजना अवैज्ञानिक र एकलौटी ढङ्गबाट गरिएकोले तत्काल सच्याउनसमेत व्यापारीहरूले माग गरेका छन्। स्थानीय महावीर रोड तथा हनुमान मन्दिर क्षेत्रका व्यापारी व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। केही दिनअघि महानगरको निर्णयका विरुद्ध स्थानीय शनी मन्दिर क्षेत्रका व्यापारीसमेत आन्दोलित भएका थिए।

“कोरोनाले थलिएको व्यापार भर्खरै तङ्ग्रिएको अवस्थामा महानगरपालिका ब्यापार मास्ने नियतका साथ अघि बढेको देखियो,” स्थानीय पोखरेल इलेक्ट्रिकका सञ्चालक रुक्मिण पोखरेलले भन्नुभयो,“ हामीले महानगरको करलगायत राज्यलाई तिर्ने सबै करहरू समयमा बुझाउँदै आएका छाँै तर स्थानीय सरकारको रवैया ठीक भएन।” मासिक लाखाैँ रकम भाडा बुझाएर मुख्य सडकमा पसल थापेर सडक रुग्न मात्र नसकिने उहाँको भनाइ छ। महानगरले पहिलो चरणमा जलजला चोकदेखि अस्पताल चोकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो। शनि मन्दिर–जलजला चोक, शनि मन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ। 

बैङ्कको चर्को ब्याजदरका कारण व्यापारीहरू आत्महत्या गर्न बाध्य हुनुपरेको समयमा महानगरले विकल्पसमेत तयार नगरी पार्किङ हटाएको खुद्रा व्यापार सङ्घ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताउनुभयो। “महानगरपालिकाले हचुवाको भरमा तयार पारेका पार्किङ क्षेत्रमा अनावश्यक शुल्क लिने गरिएको छ,” उहाँले भन्नुभयो, “पार्किङ स्थल तयार गरेर ग्राहकलाई बजारसम्म पुग्न सहज हुने वातावरण तयार गरेर गर्नुपर्नेमा महानगर बल मिच्याइमा उत्रिएको छ।” महानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा पार्किङको व्यवस्थापन गरेको छ तर ती पार्किङमा घण्टाको आधारमा पार्किङ शुल्क लिने गरेकोले एक स्थानमा राखेर अर्को स्थानसम्म पुगेर ग्राहक किनमेलमा नजाने व्यापारीहरू बताउछन्। महानगरलाई विकल्प दिएर मात्र पार्किङ योजना लागू गर्न अनुरोध गर्ने तथा महानगरले विकल्प नदिने हो भने थप आन्दोलनमा जानुको विकल्प नरहेको उहाँहरूको भनाइ रहेको छ।