काठमाडौं, माघ १६ गते । फ्रेन्च लिग वान फुटबलको शीर्षटोली पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्ससँग बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
पीएसजीले सुरुवाती अग्रता जोगाउन सकेन । ५१औँ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि पीएसजी ५९औँ मिनेटमा १० खेलाडीमा समेटियो । मार्को भेराट्टीले फल खेलेपटि रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो ।
त्यसपछि खेलमा फर्किएको रेम्सले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । फोलारिन बालोगुनले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो । बराबरीसँगै शीर्षस्थानमा यथावत् रहेको पीएसजीको २० खेलबाट ४८ अङ्क पुगेको छ । २६ अङ्क बनाएको रेम्स ११औँ स्थानमा छ । एजेन्सी